Shittalpati
पूर्वखोला गाउँपालिकाको प्रगति ८६ प्रतिशत

पाल्पा, जिल्लाको पूर्वखोला गाउँपालिकाले चालु आर्थिक २०८१/०८२ मा ८६ प्रतिशत प्रगति हासिल गरेको छ । पालिकाले चालुतर्फ ३४ करोड ९० लाख ४८ हजार मध्ये ३० करोड ७१ लाख ७४ हजार खर्च गरी ८८ प्रतिशत प्रगति गरेको छ भने पूँजीगततर्फ ११ करोड १९ लाख १ हजार मध्ये ८ करोड ७१ लाख १० हजार खर्च गरी ७७. ८४ प्रतिशत प्रगती गरेको छ ।

गाउँपालिकाले तेस्रो सार्वजनिक सूनुवाई कार्यक्रम गर्दै बर्षभरी भएका कार्यक्रम गतिविधी  सार्वजनिक गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुन्दर प्रसाद श्रेष्ठले शिक्षा शाखा तर्फ ९४ प्रतिशत, स्वास्थ्य शाखा तर्फ ८४ प्रतिशत, कृषि शाखा तर्फ ८५ प्रतिशत, पशु विकास सेवा तर्फ ९६ प्रतिशत, योजना तथा प्राविधिक शाखातर्फ ९६ प्रतिशत कार्यप्रगति भएको बताए ।

 पालिकाले आन्तरिक आय १ करोड अनुमान गरेकोमा ४५ लाख १६ हजार आम्दानी गरेको छ भने सामाजिक सुरक्षा भत्ता वापत ९ करोड ८३ लाख ९२ हजार वितरण गरेको छ ।

गाउँपालिकाले अभिभावक विहिन बालबालिकादेखी उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई विभिन्न किसिमका छात्रबृत्ति प्रदान गरेको छ । स्वास्थ्य शाखाले पालिका भित्रका ७०८ जना किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाएको, ४ सय ४५ जना महिलाहरुलाई पाठेघरको मुखको क्यान्सर परीक्षण गरिएको, पालिकाबाट क्यान्सर रोग लागेका २९ जना, मृगौला रोगी १७ जना, मेरुदण्डको पक्षघात २ जना गरी ४८ जनालाई मासिक रुपमा ५ हजारको दरले २४ लाख ५५ हजार रकम वितरण गरेको पालिकाले सार्वजनिक गरेको छ ।

कृषि अन्तर्गत ३ हजार ३ सय घरधुरीलाई तरकारी विऊ वितरण गरेको, ३३०० वटा सुन्तला, १६०० वटा कागतीका विरुवा वितरण गरेको, ३ हजार ८ सय ३३ केजी मकैको विउ वितरण गरेको गाउँपालिकाले जनाएको छ । पशु शाखाले २१३ वटा गाईभैसीलाई कृत्रिम गर्भाधान गराएको, २६१ घरधुरीमा घाँसको विउ वितरण, १०५ वटा गाईभैसीको गोवर परिक्षण र ८९४ वटा गाईभैसी र बंगुरको उपचार भएको छ ।

पालिका भित्र चालु आर्थिक बर्षमा ३२७ वटा योजना रहेकोमा उपभोक्ताबाट २९६ वटा र ठेक्काबाट १८ गरी ३१४ वटा योजना सम्पन्न भएका छन् । अपाङ्ग १५ जेष्ठ नागरिक ६ गरी २१ वटा परिचयपत्र वितरण भएको छ । न्यायिक समितिमा ७ वटा उजुरी परेकोमा ७ वटै मिलापत्र भएको छ । पालिकाले  देवीनगरमा ५ दिने सरफ सावुन बनाउने तालिम, जल्पामा ७ दिने झिनिया रोटी बनाउने तालिम र विरकोटमा ३० दिने सिलाईकटाई सम्वन्धी तालिम सञ्चालन गरेको छ ।

सार्वजनिक सूनुवाईमा जनताहरुले  पालिका भनेका गाउँका सिंहदरवार भएकोले दिर्घकालीन प्रभाव राख्ने योजना छनौट गरेर गुणस्तरीय काम गर्न अनुरोध गरेका छन् । पालिका भित्र शिक्षाको गुणस्तर बढाउनु पर्ने, योजना अनुगमन गर्दा प्राविधिक टोली अनिवार्य हुनुपर्ने, आन्तरिक राजश्व बढाउनु पर्ने, जनताका गुनासाहरु छिटो छरितो सम्बोधन गर्नुपर्ने, पूर्वखोलामा चल्ने यातायाताहरुका भाडा संमायोजन गर्नुपर्ने, नैतिक तथा बालमैत्री शिक्षालाई जोड दिनुपर्ने लगायतका सुझावहरु दिएका छन् । कार्यक्रममा आएका गुनासाहरुको योजना शाखा प्रमुख विनोद नेपाल, शिक्षा शाखा प्रमुख लोकहरी देवकोटा  तथा प्रमुख प्रशासकीय अधिकत श्रेष्ठले जवाफ दिएका थिए ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापाले पालिकाको आन्तरिक आम्दानी नहँुदा चाहे अनुसार काम गर्न अफ्ठेरो परेको बताए । पालिकाको समग्रमा कार्य प्रगति उत्कृष्ट देखिएकोमा जनप्रतिनिधी कर्मचारीहरुलाई पालिका अध्यक्ष थापाले धन्यवाद दिए । जनताका माग तथा सुझावहरुलाई निति नियम बजेट भित्र रहेर सम्वोधन गर्ने र पालिकाले  शुसासन जवाफदेहितालाई प्राथमिकता दिएर काम गर्दै आएको अध्यक्ष थापाले बताए । पालिका उपाध्यक्ष भागिरथी शर्मा भट्टराईको स्वागत, पाल्पा विकास केन्द्रका संयोजक किरण कौशलको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: शनिबार, असार २८, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update