
पाल्पा, नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ । शुक्रबार राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले मौद्रिक नीति सार्वजनिक गरेका हुन् । ब्याजदर घटिरहेको सन्दर्भमा निक्षेपको वास्तविक ब्याजदर नकारात्मक हुन नदिनेतर्फ समेत नीतिमा ध्यान दिइएको छ ।
विदेशी मुद्रा सञ्चितिको अवस्था बलियो रहेको, ब्याजदर न्यून रहेको लगायत विद्यमान सहज परिस्थितिमा समग्र माग अभिवृद्धि गर्न मौद्रिक नीतिको कार्यदिशा केही लचिलो देखिन्छ । सजगतापूर्वक लचिलो नीति अवलम्बन गरिएको गभर्नर डा. विश्वनाथ पौडेलले बताए । दोस्रो वित्तीय क्षेत्र रणनीतिक स्वीकृत गरी कार्यान्वयनमा ल्याउने मौद्रिक नीतिमा उल्लेख छ । ब्याजदर करिडोरको माथिल्लो सीमाका रुपमा रहेको बैंकदरलाई छ प्रतिशत र नीतिगत दरलाई साढे चार प्रतिशत कायम गरिएको छ । यसअघि बैंकदर साढे छ प्रतिशत र नीतिगत दर पाँच प्रतिशत थियो । मौद्रिक नीतिमार्फत निजी आवासीय घर निर्माण तथा खरिद गर्नका लागि प्रवाह गरिने कर्जाको सीमा दुई करोडबाट बढाएर तीन करोड कायम गरिएको छ । पहिलो घर निर्माण वा खरिद गर्दा कर्जा–मूल्य अनुपात ८० प्रतिशतसम्म र अन्यको हकमा बढीमा ७० प्रतिशतसम्म कायम गर्न सकिने व्यवस्था गरिएको छ । व्यक्तिगततर्फको शेयर धितो कर्जाको सीमा १५ करोडबाट बढाएर २५ करोड पुर्याइएको छ ।
विदेश भ्रमणमा जाने नेपालीले बोक्न पाउने रकमको सीमा दुई हजार पाँच सय अमेरिकी डलरबाट बढाएर तीन हजार अमेरिकी डलर बनाइएको छ । चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शनलाई कृषि, साना तथा घरेलु उद्योग, शिक्षा, स्वास्थ्य, खेलकुद, सञ्चार र मिडिया हाउस लगायतको व्यवसायको प्रकृति र कर्जा भुक्तानी–आम्दानी चक्रका आधारमा आवश्यकतानुसार परिमार्जन गरिनेछ । यसमा के कस्तो परिमार्जन गर्ने भन्ने स्पष्ट नभए पनि उल्लिखित क्षेत्रमा प्रवाह भएको चालु पुँजी कर्जालाई सुविधा दिइन्छ भन्ने हो । विद्यमान कर्जाको वर्गीकरण तथा कर्जा नोक्सानी व्यवस्था अध्ययन गरी आवश्यकतानुसार पुनरावलोकन गरिनेछ । यसमा के कस्तो परिमार्जन भन्नेबारे बोलिएको छैन ।