Shittalpati
गुल्मी लोकदोहोरी प्रतिष्ठान स्वास्थ्य सामग्री लिएर क्वारेन्टाइन पुग्यो

गुल्मी । कुनै बेला देशका विभिन्न जिल्लाहरुमा सञ्चालन हुने मेला महोत्सवका सांस्कृतिक कार्यक्रमहरुमा उद्घोषक र गायकका रुपमा देखिने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गुल्मीका अध्यक्ष बसन्त खत्री यतिबेला कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि सक्रिय देखिएका छन् । मेला महोत्सवहरुमा अत्यन्त आकर्षक रुपमा उद्घोषण र लोक गीतबाट दर्शक स्रोतहरुलाई मनोरञ्जन प्रदान गर्ने खत्री सहित प्रतिष्ठानका निवर्तमान अध्यक्ष जनक पन्थ, उपाध्यक्ष प्रकाश बस्नेत, कोषाध्यक्ष ईश्वरी कंडेल लगायतका व्यक्तिहरु यति बेला कोरोनासँग लडिरहेका तिनै दर्शक स्रोताहरु माझ विभिन्न सचेतनाका कार्यक्रम र सामग्री सहित स्थानीय तहका वडा–वडामा पुगेका हुन् ।

केही समय अघि सचेतनाका कार्यक्रमहरु सञ्चालन गरेको प्रतिष्ठानले भारत लगायत तेस्रो मुलुकबाट आई स्थानीय तहले निर्माण गरेका क्वारेन्टाइनमा बसेका नागरिकहरुको सुरक्षालाई मध्यनजर गर्दै स्वास्थ्य सामग्री प्रदान गरेको छ । केही दिन अघी जिल्लाको इस्मा गाउँपालिका वडा नम्वर १ र २ मा निर्माण गरिएका क्वारेन्टाइनमा रहेका नागरिकहरुका लागि १५ हजार बराबरको स्वास्थ्य सामग्री वितरण गरेको प्रतिष्ठानले रेसुङ्गा नगरपालिकाको वडा नम्वर १३ मा निर्माण गरिएको क्वारेन्टाइनका नागरिकहरुलाई स्वास्थ्य सामग्री बाडेको छ । प्रतिष्ठानका पदाधिकाहरुले क्वारेन्टाइनमै पुगी त्यहाँ बसेका नागरिकहरुका लागि कोरोना भाइरस कोभिड १९ को सक्रमणबाट बच्न र बचाउनका लागि स्वास्थ्य सामग्री प्रदान गरेका छन् ।

उनीहरुले क्वारेन्टाइनमा रहेका नागरिकहरुलाई एक सय ५० पिस माक्स,२ लिटर सेनेटाइजर सहयोग गरेका हुन् । उक्त सामग्री प्रतिष्ठानका अध्यक्ष खत्रीले वडा अध्यक्ष खुम बहादुर खत्री, वडा सदस्य हुमबहादुर बस्नेतलाई हस्तान्तरण गरेका थिए । सामग्री हस्तान्तरण गर्दै प्रतिष्ठानका अध्यक्ष खत्रीले विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीबाट बच्न र बचाउनका लागि क्वारेन्टाइनमा रहेका नागरिकहरुलाई केही भए पनि राहत मिलोस् भन्नका लागि सामग्री हस्तान्तरण गरिएको बताए । सामग्री ग्रहण गर्दै वडा अध्यक्ष खत्रीले विपद्का बेला प्रतिष्ठानले देखाएको सहयोग र सद्भावको प्रशंसा गरे । लोक तथा संस्कृतिहरुको संरक्षण मात्र नभई विपद्मा परेकाहरुको उद्दारमा समेत प्रष्ठिान सक्रिय बन्दै आएको प्रष्ठिानका निवर्तमान अध्यक्ष जनक पन्थले बताए । उनले भने‘प्रतिष्ठान सुखमा मात्र नभई दुःखमा पनि दर्शक स्रोताको सारथी बनेको छ ।’

प्रकाशित मिति: आइतबार, जेठ ३२, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update