
रमेश विश्वकर्मा
गुल्मी । जिल्लाको सदरमुकाम तम्घास स्थित आइसोलेशनमा बसेका एक पुरुषको निधन भएको छ । कोरोना संक्रमित धुर्काेट गाउपालिका ४ जैसीथोकका ३६ वर्षीय पुरुषको शनिबार राती मृत्यु भएको तम्घास अस्पतालका डाक्टर कविराज भुसालले जानकारी दिए । उनका अनुसार भारतबाट जेठ ४ गते घर आएका उनी धुर्काेट गाउँपालिकाले बनाएको क्वारेन्टाइनमा बसेका थिए । शनिबार राती साढे ९ बजेतिर उनको मृत्यु भएको हो ।
उनलाई ठूलो आन्द्राको क्यान्सर थियो डा. भुसालले बताए । पिसिआर रिपोर्ट पोजिटिभ आएपछि उनलाई १३ गते तम्घासको आइसोलेशनमा पठाइएको हो । उनको शव विहानै नेपाली सेनाले जैसीथोकको एक सामुदायिक वनमा व्यवस्थापन गरिएको भैसकेको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए । जिल्लामा दुई जना निको भएर घर फर्केका छन् । कोरोनाका कारण जिल्लामा अहिलेसम्म ज्यान गुमाउनेको संख्या दुई पुगेको छ ।