
पाल्पा, जिल्लाको रामपुर नगरपालिकाले कृषकलाई मौरीको घार वितरण गरेको छ । उसले कृषकको आयआर्जन बढाउन नगरभित्रका ३९ जनालाई ९५ वटा मौरी घार वितरण गरिएको हो । स्थानीय कृषकको माग र आवश्यकताको आधारमा नगरपालिकाको कृषि शाखाले ५० प्रतिशत अनुदानमा घार वितरण गरेको हो ।
शाखाले एक औपचारिक कार्यक्रमकाबिच मौरीपालक कृषकलाई घार वितरण गरिएको जनाएको छ । नगरपालिकाका कार्यवाहक नगर प्रमुख तथा उपप्रमुख बालकुमारी थापाले कृषकलाई घार हस्तान्तरण गरेकी हुन् । घार हस्तान्तर गर्दै उनले मौरी पालनलाई व्यवसायिक रुपमा प्रवद्र्धन गर्न घार वितरण गरिएको बताइन् । उनले वितरित घारमा मौरी पालन गरी आम्दानी गर्न सके मात्र कार्यक्रमले सार्थकता पाउने उल्लेख गरिन् । उपप्रमुख थापाले मौरी पालन सजिलो र थोरै लगानीबाट पनि मनग्य आम्दानी गर्न सकिने भन्दै व्यवसायिक रुपमा गर्न आग्रह गरिन् । मौरी पालन व्यवसायको व्यवसायिक विकास र कृषकहरुको लागि नगरपालिकाले विभिन्न कृषि मैत्री कार्यक्रम सञ्चालन गरिने उनको भनाई छ । नगरपालिकाले सञ्चालन गरेका युवा स्वरोजगार कार्यक्रम अन्तर्गतको व्याज अनुदान कार्यक्रममा समावेश गरी व्याज अनुदानको समेत व्यवस्था गरिएको उपप्रमुख थापाले बताइन् । नगरपालिका भित्र व्यवसायिक रुपमा मौरीपालन गर्ने कृषक न्यून रहेको भन्दै उनले मौरी पालनलाई व्यवसायिक रुपमा अगाडि बढाई व्यवसायिक सफलता लिन कृषकहरुलाई आग्रह गरिन् ।
यस्तै नगरपालिकाका कृषि शाखा प्रमुख नारायण प्रसाद गैरेले परम्परागत घारमा मौरीपालन गर्दै आएका मौरीपालकहरुलाई बढी भन्दा बढी उत्पादन गर्न सहज होस् भन्ने उद्देश्यले आधुनिक मौरीको घार वितरण गरिएको बताए । कृषकको ५० प्रतिशत र नगरपालिकाको ५० प्रतिशत अनुदानमा घार वितरण गरिएको उनको भनाई छ । कार्यक्रममा मौरीपालक कृषक टिकाराम पाठकले घारको व्यवस्थापन र मौरी पालन सम्बन्धी जानकारी सहित अनुभव प्रस्तुत गरे । परम्परागत घारमा पुरानै शैलीमा मौरी पालन गर्दै आएका रामपुर –४ का शेरबहादुर रानाले आधुनिक घार पाएपछि मौरीपालनमा उत्साह थपिएको बताए ।
यस्तै रामपुर –१० च्याङ्लिङका लोकप्रसाद श्रेष्ठले उमेर ढल्किदै गएसँंगै अरु पेशा र व्यवसाय भन्दा मौरीपालन व्यवसाय गर्न सजिलो हुने भएकाले आफ्नो परम्परागत घारलाई विस्थापित गरी व्यवस्थित र व्यवसायिक रुपमा मौरी पालन व्यवसाय गर्न मद्दत पुगेको बताए । आधुनिक घारमा मह निकाल्न सजिलो हुने र माउ उत्पादन गरि संख्या वृद्धि गर्न सजिलो हुने भएकाले अनुदानमा पाएको घारले उत्पादन वृद्धि गर्न र व्यवसायिक रुपमा अगाडि बढ्न सघाउ पुग्ने रामपुर –८ का मौरीपालक कृषक बुद्धिसागर अधिकारीले बताए । रामपुर नगरपालिकाले सूचना जारी गरी आवश्यक घारको निवेदन माग गरेको थियो । कृषकको मागको आधारमा नगरपालिकाले आधुनिक मौरीको घार वितरण गरेको नगरपालिकाले जनाएको छ । कार्यवाहक नगर प्रमुख तथा उपप्रमुख बाल कुमारी थापाको अध्यक्षता, कृषि शाखा प्रमुख नारायण प्रसाद गैरेको स्वागत र जेटिए युवराज नेपालीको सञ्चालनमा कार्यक्रम भएको थियो ।