
पाल्पा, यहाँका होटल तथा पर्यटन व्यवसायीलाई तालिम दिइएको छ । व्यवसायीहरूको सीप र दक्षता अभिवृद्धि गरी स्वच्छ र पर्यटकमैत्री सेवा प्रवाहका लागि सहयोग पुर्याउन दुई दिने तालिमको आयोजना गरिएको हो ।
नेपाल पर्यटन बोर्ड र होटल व्यवसायी महासंघ नेपाल तथा होटल व्यवसायी मञ्च गुल्मीको संयुक्त आयोजनामा व्यवसायीहरूका लागि आतिथ्यता व्यवस्थापन सम्बन्धी तालिम दिइएको होटल व्यवसायी मञ्च गुल्मीले जनाएको छ । यस क्षेत्रमा कार्यरत कामदार र कर्मचारीहरूको क्षमता अभिवृद्धि गरी गुणस्तरीय सेवा प्रवाह गर्न अभिप्रेरित गर्ने उद्देश्य तालिम रहेको छ । बिहिबारदेखि तम्घासको होटल निलगिरीमा सञ्चालन भएको तालिमको शुक्रबार समापन गरिएको छ । रेसुंगा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले तालिमको उद्घाटन गरेका थिए । तालिमको उद्घाटन गर्दै उनले पर्यटनको एक महत्वपूर्ण आधारका रुपमा होटल व्यवसाय रहेको उल्लेख गर्दै गुल्मी सडक र हवाई कनेक्टिभिटिका हिसाबले सुगम बन्दै गइरहेको बताए ।
जिल्लामा सुविधा सम्पन्न होटलको आवश्यकता रहेको उल्लेख गर्दै उनले पर्यटकहरुको आतिथित्यता महत्वपूर्ण रहेको उल्लेख गरे । नेपाल पर्यटन बोर्ड भृकुटी मण्डपका वरिष्ठ अधिकृत नारायण बस्यालले देशको समृद्धिको लागि कृषि, उद्योग, पर्यटन र होटल व्यवसायीको भूमिका महत्वपूर्ण रहेको बताए । उनले भने,‘नेपालमा कुल ग्राहस्थ उत्पादन (जिडिपी) मा कृषिको योगदान करिब २५ प्रतिशत तथा उद्योगको १३ प्रतिशत र सेवा क्षेत्रको योगदान ६२ प्रतिशत रहेको छ ।’ अहिलेको अवस्थामा उद्योग क्षेत्रको योगदान रोजगारी सिर्जना, विदेशी मुद्रा आर्जन, भुक्तानी सन्तुलनका साथै समग्र जिडिपी र राष्ट्रिय अर्थतन्त्रका लागि निकै महत्वपूर्ण रहेकाले होटल लगायतका क्षेत्रहरुले पर्यटकहरुको बसाइ अवधि र प्रतिदिन खर्चमा गुणात्मक वृद्धि गर्नुपर्ने आवश्यकता रहेको औंल्याए । तालिममा सहभागी होटल व्यवसायी लोकहरि भण्डारीले प्रशिक्षण कार्यक्रम निकै उपयोगी भएको बताउँदै सिकेका सीपलाई व्यवहारमा उतार्ने प्रतिवद्धता व्यक्त गरे ।
प्रशिक्षार्थी आशिका गौतमले आफुले होटल म्यानेजमेन्ट अध्ययन गरिरहेको उल्लेख गर्दै तालिमबाट प्राप्त ज्ञान र सीपले थप परिस्कृत गर्न सहयोग पुर्याएको बताइन् । होटल व्यवसायी मञ्च गुल्मीका अध्यक्ष जंगबहादुर कुँवरले नेपाल पर्यटन बोर्ड काठमाडौँको आर्थिक वर्ष २०८१/८२ मा स्वीकृति भएको बजेटबाट होटल व्यवसायीको क्षमता विकास गर्ने उद्देश्यले आतिथ्यता व्यवस्थापन तालिमको आयोजना गरी सम्पन्न गरिएको बताए । उनले भोलीका दिनमा पनि व्यवसायीहरुलाई गुणस्तर विकासका लागि सबै एकजुट हुन आग्रह गरे । कार्यक्रममा तालिममा सहभागीहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो । लालमणि आचार्यको सञ्चालनमा कार्यक्रम भएको थियो ।