
पाल्पा, नेपाली काँग्रेसको भातृ संस्था नेपाल भूतपूर्व सैनिक संघ पाल्पाले ३५ औं स्थापना दिवस मनाएको छ । संघले शुक्रबार तानसेनमा एक औपचारिक कार्यक्रमको आयोजना गरी दिवस मनाएको हो ।
कार्यक्रमको नेपाली काँग्रेसका जिल्ला सभापति हिमालदत्त श्रेष्ठले दीपप्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका हुन् । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहेका सभापति श्रेष्ठले समाज र देश निर्माणमा भूतपूर्व सैनिकहरुको योगदान महत्वपूर्ण रहेको बताए । उनले अवकाश प्राप्त सकल दर्जाका सैनिकहरुलाई सेवाकालमा आर्जित ज्ञान, सीप र अनुभव आफ्नै गाउँघर, समाजको विकास र उत्थानमा लगाई परेको समयमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै नेपाली काँग्रेसको संगठनलाई बलियो बनाएर लैजाने दिशामा आफूलाई अग्रसर गर्न अनुरोध गरे ।
सभापति श्रेष्ठले काँग्रेसको संगठन निर्माणमा समेत भूपू सैनिकको महत्वपूर्ण भूमिका रहेको भन्दै अब नागरिकको जीवनस्तर उकास्न समेत लाग्नु पर्ने धारणा व्यक्त गरे । उनले संघमा आवद्ध भूपुहरुको योगदानको पार्टीले उच्च मूल्यांकन गर्दै संगठनका विभिन्न तह र संरचनामा समेत उनीहरुलाई महत्वपूर्ण जिम्मेवारी प्रदान गर्दै आएको बताए । सभापति श्रेष्ठले भने ‘पछिल्लो समयमा सैनिकबाट अवकाश भएर आएका नयाँ भूपुहरु लोकतान्त्रिक विचारप्रति नजिक हुन सकेका छैन् उनीहरुलाई काँग्रेसको विचार, आस्थाका बारेमा जानकारी गराउनुपर्छ ।’
उनले संघमा आवद्ध सबै भूपु सैनिकहरुलाई गाउँ– गाउँमा पुगेर काँग्रेसको विचार र आस्थाका बारेमा जानकारी गराउन समेत आग्रह गरे । सभापति श्रेष्ठले राजनीतिक गर्ने हो भने भूपु सैनिक जस्तै इमान्दारिताको साथ गर्न जरुरी रहेको बताए । उनले चुनावमा पैसा हैन, योगदान हो भन्ने कुराको प्रचार हुन आवश्यक रहेको औल्याए । सभापति श्रेष्ठले भने “अब चुनावमा पैसा हैन, योगदानमा आधारित हुनुपर्छ । काम गरेको आधारमा भोट दिने वातावरण भए मात्र भ्रष्टाचार हुँदैनथ्यो ।”
अब जनतालाई उत्पादन र रोजगारीसँग जोड्न आवश्यक रहेको समेत उनले बताए । विशिष्ट अतिथि नेपाली काँग्रेसका जिल्ला उपसभापति झपेन्द्र गहिरेले संगठनलाई बलियो र फराकिलो बनाएर लैजान राजनीतिक सुझ, बुझका साथ लोकतान्त्रिक आस्थाप्रति समर्पित हुन भूपू सैनिकहरुलाई आग्रह गरे । उनले भने‘ केही साथीहरुलाई कम्युनिष्टहरुले दिग्भ्रमीत पारेका छन् । उनीहरुलाई काँग्रेसको विचारका बारेमा बुझाउन जरुरी छ त्यसतर्फ संघमा आवद्ध साथीहरु सक्रिय भएर लागौं ।’ संघका केन्द्रीय सदस्य तथा पाल्पाका सल्लाहकार विष्णु गाहाले भूपूको मनोवल बढाउने काममा पार्टीले ध्यान दिनुपर्ने बताए । उनले आफुहरु पार्टीको संगठन निर्माणमा इमान्दारिताका साथ लागेकाले समस्या र अफ्ठ्यारो पर्दा पार्टीले साथ दिनुपर्नेमा जोड दिए ।
संघका सल्लाहकार क्याप्टेन अमरबहादुर थापाले इण्डियन, व्रिटिस भर्ती रोकिदा संगठनलाई ठूलो क्षति पुगेकाले त्यसतर्फ ध्यान दिन पार्टी नेतृत्वलाई आग्रह गरे । उनले नेपालीलाई भारतमा भर्ति गराउन आवश्यक रहेको उल्लेख गरे । नेपाल पत्रकार महासंघ पाल्पाका सचिव रामचन्द्र रायमाझीले प्रजातान्त्रिक आन्दोलनको संवाहकको रुपमा भूतपूर्व सैनिकहरु रहेको बताए । उनले अहिलेको अवस्थामा लोकतन्त्र र प्रजातन्त्रमाथि आक्रमण भइरहेकाले त्यसतर्फ सचेत हुन भूपूहरुलाई आग्रह गरे । संघले सोही अवसरमा संघको केन्द्रीय अधिवेशन र प्रदेश अधिवेशनमा निर्वाचितहरुलाई सम्मान समेत गरेको छ । उसले केन्द्रीय सदस्यमा निर्वाचित सु. विष्णुबहादुर गाहा, क्या. देवबहादुर थापा मश्राङ्गी, सु. मेजर जुद्धविर सोमरे, सु. केशरबहादुर खाणँ, प्रदेश सदस्यमा निर्वाचित नरदेवी थापा (हरी), रुमाकला राना, सु. नरबहादुर थापा, ना.सु. तिलबहादुर राना, ह. थमन बहादुर थापा र लोकेन्द्रबहादुर खड्कालाई सम्मान गरेको हो । संघका अध्यक्ष कमल विक्रम खाँणको अध्यक्षता, उपाध्यक्ष क्याप्टेन देवबहादुर थापा मश्राङीको स्वागत, सचिव हिरा सिं रानाको सञ्चालनमा कार्यक्रम भएको थियो ।