Shittalpati
पाल्पा प्यारागनका विद्यार्थी र ग्रीन फर गुडद्वारा श्रीनगरमा सरसफाई   

पाल्पा, पाल्पा प्यारागन बोडिङ्ग स्कुलमा अध्ययनरत विद्यार्थी र ग्रीन फर गुड नेपालले संयुक्त रुपमा ऐतिहासिक पर्यटकीयस्थल श्रीनगर डाँडामा सरसफाई गरेका छन् । विश्व वातावरण दिवसको अवसरमा विहीबार स्कुलमा अध्ययनरत विद्यार्थीहरूद्वारा गठित ग्रीन युथ क्लव, नेश्नल सस्टेनेवल टुरिजम क्लवमा आवद्ध विद्यार्थी र ग्रीन फर गुड नेपालमा आवद्ध अभियन्ताहरुले श्रीनगर डाँडामा रहेको हनुमान परिषरमा सरसफाइ गरेका हुन् ।

2-1749111108.jpg
विद्यार्थीसँगै शिक्षक र पर्यटन व्यवसायीहरुले पनि त्यहाँ पुगेर बिरुवा गोडमेल, तथा हुर्किन लागेका विरूवाहरूलाई तारबारसहित सरसफाइ गरेका थिए । वातावरण र संरक्षणसँग सम्बन्धित प्लेकार्ड र ब्यानर बोकेका विद्यार्थी, शिक्षक र विभिन्न संस्थाहरुका व्यक्तिहरूले श्रीनगर डाँडा र सडक किनारमा फालिएका प्लास्टिकजन्य फोहोरहरू समेत संकलन गरे ।

मानववस्तीका कारण बोटविरुवाहरु नास हुँदै जाँदा वातावरणमा नराम्रो प्रभाव परेकाले सचेतना जगाउन सरसफाई र विरुवा संरक्षण गर्ने काम गरिएको स्कूलका प्रिन्सिपल गंगाबहादुर खत्रीले बताए । “वातावरण सम्पूर्ण प्राणी जगतको घर हो । तर, रुख विरुवा नासका कारण वातावरणीय ह्रास, प्रदूषण, प्राकृतिक प्रकोप, जलवायु परिवर्तनलगायत विभिन्न हानीकारक परिणामहरू निम्त्याउँदै गइरहेको छ,” उनले भने, “हामीले विद्यार्थीमार्फत वातावरणीय प्रदूषण कम गर्न र जनचेतना फैलाउन वृक्षारोपण र सचेतनाका गतिविधिहरु अगाडि बढाएका छौं ।” विद्यार्थीहरूलाई संरक्षण शिक्षा दिन सकेको खण्डमा समाज र देश परिवर्तन हुने भएकाले विश्व वातावरण दिवसको दिन समुदाय र अन्य संस्थाहरुसँगको सहकार्यमा विद्यार्थीहरुले सरसफाइ गरेको प्रिन्सिपल खत्रीले बताए । उनले भने “विद्यार्थीहरूलाई पढाइको अतिरिक्त वातावरण संरक्षण गर्नु हामी सबैको दायित्व हो भन्ने शिक्षा दिनु पनि अहिलेको आवश्यकता हो, त्यसलाई हामीले महसुस गरेका छौं ।” यहाँका विद्यार्थीहरुले हरेक वर्ष ग्रीन फर गुड नेपालसँगको सहकार्यमा वातावरण सरसफाई र वृक्षारोपणसँगै संरक्षण गर्ने काम गर्दै आएका छन् । 

प्रकाशित मिति: बिहीबार, जेठ २३, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update