
काठमाडौं, सरकारले खेलकुद पूर्वाधार निर्माणलाई प्राथमिकता दिने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय संसदमा आर्थिक वर्ष २०८२–८३ को बजेट प्रस्तुत गर्दै खेल पूर्वाधार, खेलाडी प्रशिक्षण कार्यक्रम र प्रतियोगिता सञ्चालन गर्न प्राथमिकता दिने उल्लेख गरेका हुन् ।
सरकारले नीजि क्षेत्रलाई खेल पूर्वाधारमा लगानी गर्न आकर्षित गर्ने नीति लिने पनि अर्थमन्त्री पौडेलले बजेटमा उल्लेख गरेका छन् । यस्तै झापाको दमकमा बहुउद्देश्यीय आधुनिक रंगशाला निर्माण गर्न बजेट विनियोजन गरिएको छ । सोलुखुम्बु, मुस्ताङ र जुम्लामा हाइ अल्टिच्युट रंगशाला निर्माण गरिने सरकारको भनाइ छ । मुलपानी क्रिकेट रंगशाला, मोरङको गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला, कैलालीको फाप्ला क्रिकेट रंगशाला र रुपन्देहीको सिद्धार्थनगर क्रिकेट रंगशालाको निर्माणका लागि ४२ करोड बिनियोजन गरिएको छ । कीर्तिपुरको रंगशाला स्तरोन्नती गर्न थप ४० करोड रुपैयाँ छुट्याइएको छ ।
अहिले झन्डै ९० करोडमा फ्लड लाइट र १० हजार दर्शक क्षमताको प्यारापिटको निर्माण कार्य भइरहेको छ । चितवनको गौतमबुद्ध क्रिकेट रंशागालाको सिर्जित सम्पत्ती खरिद गर्न शसर्त अनुदानको व्यवस्था गरिएको छ । यो वर्ष सुर्खेतको वीरेन्द्रनगरमा दशौं राष्ट्रिय खेलकुदका लागि ५४ करोड बिनियोजन गरिएको छ । २०८१ सालमा गर्ने भनिएको दशौं राष्ट्रिय खेलकुद पटक पटक सरेको थियो । अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई पुरस्कार र उनीहरुका सन्तानलाई शैक्षिक छात्रबृत्ति प्रदान गर्ने सरकारले घोषणा गरेको छ। खेलाडी र प्रशिक्षकको प्रोत्साहन भत्ता निरन्तरता दिइएको छ । प्रत्येक प्रदेशमा कम्तिमा तीन स्पोट्र्स एकेडेमी सञ्चालन गर्ने सरकारको योजना छ ।