
पाल्पा, पाल्पाको तानसेन नगरपालिका –७ बाघखोरका सुजन कोइरालाले पूर्वपत्नी सहित दुई छोरीको हत्या गरेका छन् । हाल बुटवल उपमहानगरपालिका–११, होराइजनचोकस्थित मिलीजुलीपथमा बस्दै आएका कोइरालाले बुधबार बिहान पूर्वपत्नी ३४ वर्षीया दीपा बस्याल र उनका छोरीहरू ७ वर्षीया स्नेहा र ४ वर्षीया हिमानी बस्यालको हत्या गरेका हुन् ।
उनीहरुलाई घरेलु हतियार हेम्बर र चक्कु प्रहार गरी हत्या गरेको पाइएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी सुरज कार्कीले जानकारी दिए । कोइरालालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुटवलकै आफ्नै घरमा बोलाएर उनीहरुको हत्या गरेको तानसेन नगरपालिका –७ का वडा अध्यक्ष प्रदीप खनालले बताए । उनका अनुसार दीपा तानसेन –७ स्थित आधारभूत स्वास्थ्य केन्द्र कुन्सरेमा स्वास्थ्यकर्मीको रुपमा कार्यरत थिइन् ।
प्रहरीका अनुसार हत्या गर्ने अभियुक्त आफ्नै माइला दाजु सुदीप कोइरालाको हत्या गरेर जेल बसी केही वर्ष अघि संविधान दिवसको दिन आम माफी पाएर छुटेका थिए । उनले १३ वर्षअघि दाजुको हत्या गरेका हुन् । दाजुको हत्यापछि शवलाई टुक्राटुक्रा पारी नष्ट गर्ने प्रयास गरेका उनले पछि जिल्ला प्रहरी कार्यालय पाल्पामा दाजु हराएको भन्दै खोजीका लागि निवेदन समेत दिएका थिए । दाजुको हत्यापछि सुजन जेल परेका थिए ।
त्यसपछि सुजन र दीपाको सम्बन्ध चिसिएको थियो । ०७२ सालमा दीपाले सुजनसँग सम्बन्धविच्छेद गरेकी थिइन् । त्यति बेला सुजन जेलमै थिए । स्थानीयका अनुसार सम्बन्ध विच्छेदपछि दीपाले पाल्पाका शंकर ढकालसँग दोस्रो विवाह गरेकी थिइन् । हाल ढकाल वैदेशिक रोजगारीका लागि विदेशमा छन् । कोइराला जेलबाट छुटेपछि भने यी दुईबिच पुनः हेलमेल हुँदै आएको बुझिएको छ । सम्बन्धविच्छेद भए पनि दीपा र सुजनबिच फोन सम्पर्क र भेटघाट हुने गरेको स्रोतले जनाएको छ । सुजनले आफ्नी श्रीमति बाहिर गएको मौकामा पूर्वपत्नी दीपालाई बुटवल बोलाएका थिए ।
दीपासँगै हत्या गरिएका दुई बालिका पछिल्लो पतितर्फका हुन् । दीपा एक आफन्तको विवाहका लागि मंगलबार बुटवल गएकी थिइन् । त्यही बेला पूर्वपति सुजनले उनलाई घर बोलाएका थिए । कोइरालाको घरमा मंगलबार राति सुजनसँगै दीपा र उनका दुई छोरीहरू बसेका थिए । प्रहरीका अनुसार बुधबार बिहान ४ बजेतिर सुजनले दीपा र छोरीहरूको धारिलो हतियार चक्कु र हतौडाको प्रयोग गरी हत्या गरे । सुजनको घरमा किचन र्याक बनाउन पुगेका मिस्त्रीले एक महिला र दुई बच्चा (बालिका) भुइँमा ढलेको देखेपछि स्थानीय र प्रहरीलाई खबर गरेका थिए । मिस्त्रीबाट सूचना पाएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो । छिमेकीका अनुसार जेलबाट निस्किएपछि कोइरालाले कारागारमा निर्मित सामाग्रीहरूको व्यापार गर्दै आएका थिए । प्रहरीले तीन वटै शव पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगेको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
शोकमा तानसेन नगर मातहतका कार्यालय बन्द
यस्तै तानसेन नगरपालिका वडा नं. ७ मा रहेको कुन्सरे आधारभूत स्वास्थ्य केन्द्रमा अनमी पदमा कार्यरत दीपाको हत्या भएको शोकमा तानसेन नगरकार्यपालिकाको कार्यालय, सम्पूर्ण वडाकार्यालयहरु, स्वास्थ्य संस्था, सेवा केन्द्रहरुमा बुधबार शोक विदा दिइएको थियो । दुई जना छोरीहरुसहित दीपाको हत्या भएकोमा दुख व्यक्त गर्दै नगरपालिकाले शोक मनाएको हो ।