Shittalpati
रिब्दीकोटमा किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा

पाल्पा, जिल्लाको रिब्दीकोट गाउँपालिका –२ मा रहेको देउराली स्वास्थ्य चौकीलाई किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा घोषणा गरिएको छ । गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष नारायण कार्कीले उक्त स्वास्थ्य संस्थालाई किशोरकिशोरी मैत्री स्वास्थ्य सेवाको घोषणा गरेका हुन् ।

घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष कार्कीले किशोरावस्था अलि चञ्चले स्वभावको हुने र सोही अवस्थामा शारीरिक, मानसिक, सामाजिक एवं संवेगात्मक परिवर्तन देखिने भएकाले किशोरकिशोरीहरुले आफुलाई सक्षम रुपमा समाजमा स्थापित गर्नका लागि किशोरकिशोरी मैत्री शिक्षा प्रदान गर्न सम्बन्धित पक्षहरु जिम्मेवार रहनु पर्ने बताए । उनले स्वास्थ्य चौकीहरुमा सेवा सुविधा बृद्धि हुनु र किशोरकिशोरी मैत्री सेवा समेत उपलब्ध हुनु राम्रो कुरा भएको उल्लेख गरे । उनले आफनो पालिका भित्र रहेका सबै स्वास्थ्य चौकीमा प्रभावकारी सेवा र सुविधा विस्तार गर्दै लाने बताए । पालिकाको सम्मृद्धिको आधारहरु मध्य स्वास्थ्य सेवा प्रमुख प्राथमिकतामा रहेको भन्दै उनले कोही पनि नागरिक स्वास्थ्य सेवाबाट बञ्चित हुन नपाउन भन्ने उद्देश्यले गाउँपालिकाको नीति तथा कार्यक्रममा पनि स्वास्थ्य क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेर बजेट बिनियोजन गरिएको बताए । अध्यक्ष कार्कीले स्वस्थ जीवनबाट मात्र सम्मृद्धिको आधार तय गर्न सकिनेमा जोड दिए ।

किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा घोषणा भैसकेपछि सो संस्थाबाट यौन तथा प्रजनन्, परिवार नियोजन, पोषण, हिंसा, लागुपदार्थ दुव्र्यसन, नसर्ने रोगको रोगथाम, मानसिक समस्या जस्ता सेवाहरु प्रदान गरिने भएको छ । उक्त सेवाबाट किशोरकिशोरीहरुले गोपनीय रुपमा सहज र मैत्रीपूर्ण तरिकाले स्वास्थ्यकर्मीसँग परामर्श गर्न सक्ने प्रमुख प्रशासकीय अधिकृत मणि प्रसाद खनालले बताए । पालिका भित्र पहिलो पटक देउराली स्वास्थ्य संस्थालाई कोशोरकिशोरी मैत्री स्वास्थ्य सेवा घोषणा गरेपछि सोही संस्थाका कर्मचारीहरुले आगामी दिनमा स्वास्थ्य संस्थाबाट प्रदान हुने सेवाहरु पूर्ण रुपमा कोशोरकिशोरी मैत्री हुने भन्दै प्रतिबद्धता जनाएका छन् ।

किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा सञ्चालन निर्देशिका २०७९ दफा ५ अनुरुप गरिएको मूल्याङ्कनका आधारमा स्वास्थ्य संस्थालाई कोशोरकिशोरी मैत्री स्वास्थ्य सेवा घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारीले बताए । सदरमुकाम तानसेनसँगै जोडिएको उक्त संस्थाबाट आगामी दिनमा त्यस क्षेत्रका किशोरकिशोरीहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ १६, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update