Shittalpati
पाल्पाका सुजनले गरे पूर्वपत्नी सहित दुई छोरीको हत्या (भिडियो सहित)

पाल्पा, पाल्पाको तानसेन नगरपालिका –७ बाघखोरका अन्दाजी ३२ बर्षीय सुजन कोइरालाले पूर्वपत्नी सहित दुई छोरीको हत्या गरेका छन् । हाल बुटवल उपमहानगरपालिका–११, होराइजनचोकस्थित मिलीजुलीपथमा बस्दै आएका कोइरालाले बुधबार बिहान पूर्वपत्नी ३४ वर्षीया दीपा बस्याल र उनका ४ र ७ वर्षका दुई छोरीहरूको हत्या गरेका हुन् ।

उनीहरुलाई घरेलु हतियार हेम्बर र चक्कु प्रहार गरी हत्या गरेको पाइएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी सुरज कार्कीले जानकारी दिए । कोइरालालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार हत्या गर्ने अभियुक्त आफ्नै दाजु मारेर जेल बसी केही वर्ष अघि संविधान दिवसको दिन आम माफी पाएर छुटेका थिए ।

बुटवलकै आफ्नै घरमा बोलाएर उनीहरुको हत्या गरेको तानसेन नगरपालिका –७ का वडा अध्यक्ष प्रदीप खनालले बताए । उनका अनुसार दिपा तानसेन –७ स्थित आधारभूत स्वास्थ्य केन्द्र कुन्सरेमा स्वास्थ्यकर्मीको रुपमा कार्यरत थिइन् । कोइरालासँग सम्बन्ध विच्छेद गरेकी उनले अर्कैसँग विवाह गरेकी थिइन् । कोइराला जेलबाट छुटेपछि भने यी दुईबिच पुनः हेलमेल हुँदै आएको बुझिएको छ । सम्बन्धविच्छेद भए पनि दिपा र सुजनबिच फोन सम्पर्क र भेटघाट  हुने गरेको स्रोतले जनाएको छ । सुजनले आफ्नी श्रीमति बाहिर गएको मौकामा पूर्वपत्नी दीपालाई बुटवल बोलाएका थिए । दीपासँगै हत्या गरिएका दुई बालिका पछिल्लो पतितर्फका हुन् ।घटनाको विषयमा थपअनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको  छ ।

प्रकाशित मिति: बुधबार, जेठ १५, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update