Shittalpati
रिब्दीकोटमा अध्यक्ष कप भलिबल र क्रिकेट प्रतियोगिता

पाल्पा, जिल्लाको रिब्दीकोट गाउँपालिकामा तेस्रो अध्यक्षकप भलिबल तथा क्रिकेट प्रतियोगिता भएको छ । गाउँपालिकाको युवा तथा खेलकुद विकास समितिको आयोजनामा वडा नं. ३ माल्मुलस्थित रानीकुवाँ खेलमैदानमा प्रतियोगिता भएको हो ।

प्रतियोगितामा महिला तथा पुरुष भलिबल र पुरुष क्रिकेट भएको छ । प्रतियोगिताको गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीले उद्घाटन गरेका हुन् । प्रतियोगिताको उद्घाटन गर्दै अध्यक्ष कार्कीले खेल क्षेत्रको विकासमा पालिकाले विशेष प्राथमिकता दिएको बताए । उनले आफूहरु निर्वाचित भएदेखि नै खेल मैदानहरुको स्तरउन्नति र नयाँ खेल मैदान निर्माण तथा विभिन्न प्रतियोगिता आयोजना गरेर युवालाई खेतप्रति आर्कषण गर्ने कार्य गर्दै उल्लेख गरे ।

उपाध्यक्ष कान्ता अधिकारीले राष्ट्रिय अन्तराष्ट्रियस्तरमा खेलाडी उत्पादनका लागि प्रतियोगिता महत्वपूर्ण रहने बताइन् । कार्यक्रममा नेकपा एमालेका विष्णु प्रसाद खनाल, नेकपा माओवादी केन्द्रका हरीबहादुर कुवंरले पालिकाले गरेको खेलको लगानीको सही तरिकाले सदुपयोग हुनुपर्ने बताए । प्रमुख प्रशासकीय अधिकृत मणीप्रसाद खनालले खेलका लागि पालिकाले जति महत्व दिएको छ सोही अनुरुप खेलाडीले आफ्नो प्रतिभा देखाउन आग्रह गरे । ३ का वडाध्यक्ष नारायण बहादर केसीले रानीकुवा खेल मैदानमा आगामी दिनहरुमा थप व्यवस्थापन गरेर अघि बढ्ने बताए । 

उनले खेलको क्षेत्रबाट समग्र पालिकाको विकासका लागि सबै लाग्नुपर्ने बताए । प्रतियोगितामा पुरुष भलिबलतर्फ ८ टीम र महिला भलिबलतर्फ ५ टीम सहभागी छन् । यस्तै क्रिकेटका लागि पालिका भित्रका सात टीम सहभागी रहेको प्रमुख प्रशासकिय अधिकृत खनालले बताए । खेलमा पुरुषतर्फ प्रथम हुने समूहले २५ हजार, दोस्रो हुनेले १५ हजार र तेस्रो हुने समूहले १० हजार नगदसहित मेडलर प्रमाणपत्र पाउने युवा तथा खेलकुद विकास समितिका अध्यक्ष झविन्द्र पचभैंयाले बताए । उनका अनुसार महिला भलिबलतर्फ प्रथम, दोस्रो र तेस्रो हुने समूहले क्रमशः दश हजार, ७ हजार र पाँच हजार नगदसहित मेडल र प्रमाणपत्र पाउने छन् । 

प्रकाशित मिति: बुधबार, जेठ १५, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update