Shittalpati
लुम्बिनी प्रादेशिक अस्पतालमा पित्तथैलीको विशेष सर्जरी

बुटवल, लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले पित्तथैलीको विशेष सर्जरी कार्यक्रमलाई थप सहज र प्रभावकारी बनाउन थालेको छ । अस्पतालले शल्यक्रिया सेवाका लागि महिनौं पालो कुर्नुपर्ने अवस्थाको अन्त्य गर्न विशेष सर्जरी कार्यक्रम प्रभावकारी बनाउन लागेको हो ।

पित्तथैलीको शल्यक्रियाका लागि पालोमा रहेका सेवाग्राहीहरुले अब झनझट व्यहोर्न नपर्ने भएको छ । अस्पतालले ति सेवाग्राहीका लागि लक्षित गरी सोमबारदेखि नाम दर्ता सुरु गरेको छ । अस्पतालको सर्जरी विभागमा पित्तथैलीको अपरेसनको पालो लिई प्रतीक्षामा बसेका बिरामीहरूलाई लक्षित गरी नाम दर्ता गर्न थालिएको अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट (मेसु) डा इन्द्र ढकालले बताए । मेसु डा. ढकालद्वारा शुक्रबार जारी गरिएको सूचनामा भनिएको छ, ‘यस अस्पतालमा जाँच गराई अपरेसनको मिति २०८२ असार १ गतेपछिको पालो लिएर बसिरहेका बिरामीहरूले यही जेठ १२ देखि जेठ २२ गतेसम्म अस्पताल प्रशासन शाखामा कार्यालय समयमा सम्पर्क गरी नाम दर्ता गराउन अनुरोध छ ।’ नाम दर्ता गराइसकेपछि अपरेसनको पालो लिएको कागजातसहितको विवरण अस्पतालको इमेलमा पठाउन वा आफैँ उपस्थिति भई अस्पतालको प्रशासन शाखामा बुझाउन अस्पतालले आग्रह गरेको छ । यो कार्यक्रम अन्तर्गत कम्तिमा ३ जना बिरामीलाई सेवा उपलब्ध गराउने लक्ष्य राखिएको छ । 

यसका लागि साविकको लुम्बिनी अञ्चलका जिल्लाहरु रुपन्देहीसहित पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलवस्तु, नवलपरासी तथा प्युठानमा समेत सूचना प्रकाशन प्रशारण गरी जानकारी गराइएको डा. ढकालले जानकारी दिए । यो अभिान सम्पन्न भएपछि शल्यक्रियाका लागि कुनै पनि सेवाग्राहीले गुनासो गर्ने अवस्थाको अन्त्य हुने अपेक्षा गरिएको अस्पतालका प्रशासकीय प्रमुख राजन केसीले बताए । 

अस्पताल बिस्तार कार्यक्रम अन्तर्गत लुम्बिनी प्रादेशिकमा प्रसुती सेवाका लागि छुट्टै अपरेशन थिएटर स्थापना भएपछि यसअघि सञ्चालनमा रहेको अपरेशन थिएटरबाट सेवा थप सहज बन्दै गएको छ । 

अस्पतालका प्रशासकीय प्रमुख केसीका अनुसार विगत ३ वर्षको तथ्याड्ढ मूल्याड्ढन गर्दा औसतमा वार्षिक करिब १० हजार बिरामीको शल्यक्रिया हुने गरेको छ । पछिल्लो आर्थिक वर्षमा अस्पतालबाट ३ लाख ४८ हजार ९ सय ७१ जनाले स्वास्थ्य सेवा लिएका छन् । सेवाग्राहीको चाप र जनगुनासोलाई कम गर्न अस्पतालमा विशेष सर्जरी कार्यक्रम सञ्चालन गर्न लागिएको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालप्रतिको जनगुनासो कम गर्नुका साथै विशिष्टकृत सेवाहरुलाई थप गर्दै लैजाने तथा भएका सेवाहरुलाई थप गुणस्तरीय बनाउनेमा अस्पताल परिवारले योजनावद्ध क्रियाकलपा सञ्चालन गर्दै आएको अस्पताल बिकास समितिका अध्यक्ष अजमान श्रेष्ठले बताए । अस्पतालले हाल सञ्चालन गर्न लागेको विशेष कार्यक्रम सरकारी अस्पतालमा सम्भवतः पहिलो भएको दाबी गर्दै उनले यो अभियानले स्वास्थ्य सेवामा सकारात्मक प्रभाव पार्ने दाबी गरे ।

प्रकाशित मिति: मंगलबार, जेठ १४, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update