
गुल्मी, जिल्लाको इस्मा गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका घोषणा भएको छ । १५ महिना मुनीका गाउँपालिकाभित्र रहेका सबै बालबालिकाले पूर्ण खोप पाएको सुनिश्चितता भए पछि सो गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता घोषणा गरिएको हो ।
गाउँपालिका भित्रका सबैै वडाहरूमा रहेका १५ महिना मुनिका सबै बालबालिकाले १३ वटा सरुवा रोगहरुको खोप अनिवार्य पाएको सुनिश्चितता भएपछि पालिकालाई पूर्ण खोप दिगोपन सुनिश्चितता पालिका घोषणा गरिएको पालिकाको स्वास्थ्य शाखाले जनाएको छ । चालु वर्षमा हालसम्म सबैले पूर्ण खोप पाएको र अगामी दिनमा पनि दिगोपना कायम राख्ने प्रतिबद्धता जनाउँदै पूर्णखोप सुनिश्चित दिगोपना गाउँपालिकाको रूपमा घोषणा गरिएको हो । पालिकालाई जिल्ला समन्वय समितिका प्रमुख द्रोण खत्रीले पूर्ण खोप सुनिश्चितता र पूर्ण संस्थागत प्रसुति सेवायुक्त पालिका घोषणा गरेका हुन । घोषणा कार्यक्रममा बोल्दै समन्वय प्रमुख खत्रीले पूर्ण खोप सुनिश्चितता र पूर्ण संस्थागत प्रसुति सेवायुक्त पालिका घोषणाले हामी सक्षम छौ भन्ने देखिए पनि यसको दिगो सञ्चालनका लागि कार्ययोजना र स्रोत सुनिश्चित नहुँदा अधिकांश कार्यक्रमहरु पछी गएर अलपत्र पर्ने भएकोले घोषणासंगै स्रोतको सुनिश्चित गर्नुपर्ने बताए ।
गाउँपालिकाका अध्यक्ष भगतसिंह खड्काले पूर्वाधार विकाससँगै मानव विकास र स्वास्थ्य तथा पोषणको सन्दर्भमा विभिन्न कार्यक्रमहरु अगाडि बढाइएको बताए । घोषणासँगै यसलाई दिगोपना दिनका लागि पालिकाका सबै सरोकारवाला निकाय, नागरिक समाज र समुदायको सहयोग आवश्यक हुने उनले बताए । गाउँपालिका उपाध्यक्ष पार्वती कुँवरले गाउँपालिकामा स्वास्थ्यको क्षेत्रमा थुप्रै कार्यक्रमहरु अगाडि बढाइएको बताइन् । स्वास्थ्य शाखा प्रमुख पदमलाल अधिकारीले गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना र पूर्ण संस्थागत प्रसुति सेवायुक्त पालिका घोषणा गर्नका लागि पालिकाभित्र सम्पन्न गरिएका कार्यक्रमहरुका विषयमा जानकारी गराएका थिए । तोकिएका आवश्यक सम्पूर्ण मापदण्डहरु पुरा गरेकाले पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना र पूर्ण संस्थागत प्रसुति सेवायुक्त र पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको उनको भनाई छ ।
गाउँपालिका वडा नं. १ का वडाअध्यक्ष शेर बहादुर कुँवरले २०७३ साल माघ २५ गते तत्कालिन स्वास्थ्यमन्त्री गगनकुमार थापाद्वारा सिलान्यास गरिएको हस्तिचौर स्वास्थ्यचौकी पूर्ण खोप, पूर्ण संस्थागत प्रसुति वडा घोषणा हुन सफल भएको जानकारी गराए । गाउँघर क्लिनिक सञ्चालन हुनुका साथै वडाका विभिन्न ४ स्थानबाट खोप सेवा प्रवाह गर्ने गरिएको समेत जानकारी दिए । जिल्लामा इस्मा गाउँपालिका सहित सात वटा स्थानीय तह पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका घोषणा भएका छन् ।