Shittalpati
पाल्पाका स्थानीय सरकारले खरिद गरे भिटिएम

रामचन्द्र रायमाझी
पाल्पा, क्वारेन्टाइनमा रहेका व्यक्तिको परीक्षण अभावमा व्यवस्थापनमा सकस भइरहेका बेला जिल्लाका केही स्थानीय तहले आफ्नै आर्थिक स्रोतबाट क्वारेन्टाइनमा बसेकालाई पिसिआर परीक्षणका लागि स्वाब संकलन गर्न भिटिएम खरिद गरेका छन् । संघीय सरकार र प्रदेश सरकारबाट पठाएको भिटिएम पिसिआर परीक्षणका लागि स्वाब संकलन गर्न अपुग भएपछि स्थानीय तहले आवश्यकतानुसार भिटिएम खरिद गरेका हुन् ।

कोरोना आशंका गरिएका व्यक्तिको परीक्षणमा आवश्यक पीसीआर र आरडीटी किटको चरम अभाव भएपछि जिल्लाका स्थानीय तहले आफैँ खरिद गर्न थालेका छन् । रामपुर नगरपालिका, पूर्वखोला गाउँपालिका, बगनासकाली गाउँपालिका र रम्भा गाउँपालिकाले भिटिएम खरिद गरिसकेका छन् भने अन्यले खरिद गर्ने तयारी थालेका छन् । जिल्लामा दुई नगरपालिका र आठ गाउँपालिका रहेका छन् । संघ र प्रदेशको भर परेर परीक्षण बिना घर पठाउँदा कोरोना संक्रमण फैलनसक्ने भन्दै जिल्लाका स्थानीय तहले परीक्षण सामग्री खरिदमा लागेको बताइएको छ ।

रामपुर नगरपालिकाले ५ सय भिटिएम खरिद गरेर परीक्षणको दायरालाई बढाएको छ । परीक्षणका लागि आवश्यक भिटिएम खरिद गरेर चार सय बढी नागारिकको परीक्षण अगाडि बढाइएको नगर प्रमुख रमणबहादुर थापाले बताए । पूर्वखोला गाउँपालिकाले स्वास्थ्य कार्यालयबाट प्रर्याप्त भिटिएम नपाएपछि आफै ५ सय भिटिएम खरिद गरेको छ । गाउँपालिकाले खरिद गरेकै भिटिएमबाट क्वारेन्टाइमा रहेका ३ सय ४० जनाकै स्वाब संकलन सुरु गरेको छ । बगनासकाली गाउँपालिकाले एक सय ५० सेट भिटिएम खरिद गरिसकेको छ । भारत लगायत तेस्रो मुलुकबाट आएर गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा बसेका एक सय १५ जनाको, खरिद गरेको भिटिएमबाट पिसिआरका लागि स्वाव संकलन थालिएको स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीले बताए । उनका अनुसार पछि आवश्यकता अनुसार स्वास्थ्य सामग्री खरिद गरिने छ ।

क्वारेन्टाइनबाट घर फर्कने दिनमा व्यक्तिको स्वास्थ्य अवस्था अनुसार स्थानीय तहले भिटीएम वा आरडीटी परीक्षण गर्ने गरी तयारीलाई अगाडि बढाएका छन् । कोरोनासँग मिल्दो लक्षण देखा परेमा समयमै स्वाब संकलन गरेर परीक्षणका लागि पठाउन सहज हुने स्थानीय तहका जनप्रतिनिधिको भनाइ छ । रम्भा गाउँपालिकाले पनि २ सय भिटिएम किट खरिद गरेको छ । गाउँपालिकाकै ल्याब असिस्टेन्टबाट क्वारेन्टाइनमा बसेका १ सय ५० जनाको स्वाब संकलन सुरु गरेको अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए । पालिकाले थप ४ सय किट किन्ने तयारीमा रहेको अध्यक्ष भण्डारीले जानकारी दिए । माथागढी गाउँपालिकाले दुई सय भिटीएम र आरडिटी किट मगाएको अध्यक्ष सन्तोष थापा मगरले जानकारी दिए । ‘केन्द्र र प्रदेशको भर परेर भएन,परीक्षण नै नगरी घर कसरी पठाउने भनेर आफैँ भिटीएम र किट किनेर ल्याउदै छौँ’ अध्यक्ष थापाले भने ।

समयमै परीक्षणको अभावमा स्थानीय तहका क्वारेन्टाइनमा रहेका व्यक्तिलाई रोकेर राख्नुपर्ने बाध्यता रहेको जनप्रतिनिधिको भनाइ छ । बिना परीक्षण घर पठाउने वा कति दिनसम्म क्वारेन्टाइनमा राख्ने भन्नेमा स्थानीय तहमा अन्यौल थपिएको रामपुर नगरपालिकाका नगर प्रमुख रमण थापाले बताए । प्रदेश र संघ सरकारप्रति निकै आक्रोशित भएका जनप्रतिनिधिले सबै जिम्मा स्थानीय तहको टाउकोमा हालेर परीक्षण सामग्री समेत समयमै उपलब्ध नगराएको आरोप लगाएका छन् । जिल्लाका क्वारेन्टाइनमा २ हजार २ सय नागरिक रहेका छन् । तर जिल्ला स्वास्थ्य कार्यालयसँग हाल भिटिएम किट ३ सय र आरडीटी किट २ सय मात्र रहेकाले स्थानीय सरकारहरुलाई क्वारेन्टाइनमा रहेका नागरिकको व्यवस्थापनमा चुनौती थपिएकाले आफ्नै स्रोतबाट स्वास्थ्य सामग्री खदिरमा लागेका हुन् । जिल्लामा दिनहुँ संक्रमणको संख्या बढ्दै गएको छ । बुधबार मात्र माथागढी गाउँपालिका ८ बहादुर पुरको एउटै क्वारेन्टानमा १२ जनामा कोरोना संक्रमण देखिएको थियो । योसँगै पाल्पामा कोरोना संक्रमितको संख्या २२ पुगेको छ भने एक जनाको मृत्यु भएको छ ।

 

प्रकाशित मिति: बिहीबार, जेठ २९, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update