Shittalpati
गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

गुल्मी, जिल्लाको रेसुङ्गा नगरपालिका – ६ सिमाघाट स्थित लप्सीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको  मृत्यु भएको छ ।

आइतबार राति धुर्कोटबाट तम्घास आउँदै लु ९७ प ७४७९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दाङ गढवा गाउँपालिका–३ गोबडियाका २७ वर्षीय निशान चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी डीएसपी गंगाबहादुर सारुले जानकारी दिए । उनका अनुसार चौधरीले चलाएको मोटरसाइकल अनियन्त्रित भई धुर्कोट –तम्घास सडक खण्ड अन्तर्गत सिमाहा घाट छेउको नालीमा खसेको थियो ।

सडकको नालीमा मोटरसाइकलले च्यापेको देखेपछि स्थानीयले सोमबार बिहान प्रहरीलाई खबर गरेका थिए । खबर लगत्तै प्रहरीले प्रारम्भिक अनुसन्धान गरी शव पोष्टमार्टमका लागि गुल्मी अस्पताल पठाएको छ  । मृतक चौधरी इन्द्र एमके जेभीमा सब इन्जिनियरको रुपमा कार्यरत थिए । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, जेठ ६, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update