
पाल्पा(रामपुर),जिल्लाको रामपुर नगरपालिकामा मेलमिलापकर्ताहरुको लागि पुनर्ताजगी तालिम सञ्चालन गरिएको छ । नगरपालिका भित्रका सूचीकृत मेलमिलापकर्ताहरुको लागि तीन दिने पुनर्ताजगी तालिम सञ्चालन गरिएको हो ।
तालिमको नगर प्रमुख रमण बहादुर थापाले शुभारम्भ गरेका हुन् । तालिमको शुभारम्भ गर्दै उनले नयाँ नियम कानुन बारे जानकारी नहुँदा विवाद समाधानमा समस्या हुने गरेको बताए । मेलमिलापकर्ताहरु नयाँ जारी भएका नियम कानुनबारे जानकार हुनु पर्ने बताउँदै उनले समुदायका अन्य मानिसलाई समेत सचेत गराउन आग्रह गरे । कानुनी सचेतनाको अभावका कारण समाजमा विवाद सिर्जना हुने गरेको भन्दै नगर प्रमुख थापाले कानुन भन्दा माथि कोही नभएको बताए । विवाद र मुद्दा छलफलको माध्यमबाट समाधान गर्न आवश्यक रहेको उनले औल्याए । उपप्रमुख तथा न्यायिक समितिका संयोजक बाल कुमारी थापाले शान्त र विवाद रहित नगरपालिका निर्माणका लागि सबै मेलमिलापकर्ताहरुलाई पूर्ण जिम्मेवारका साथ लाग्न आग्रह गरिन् । उनले वडामा हुने विवादका मुद्दालाई न्यायोचित तवरले निरुपण गर्नु पर्नेमा जोड दिइन् । साथै नयाँ जारी भएका नियम कानुन बारे जानकारी गराउन पुनर्ताजगी तालिमको आयोजना गरिएको उनको भनाई छ । उपप्रमुख थापाले नगरपालिकामा जग्गा विवाद सम्बन्धी मुद्दा धेरै आउने गरेको भन्दै स्थानीय सरकार, नापी कार्यालय र विषेश नापी टोलीको जग्गा मापनमा एक रुपता नहुँदा समस्या आएको बताइन् । कार्यक्रममा नगरपालिकाका प्रवक्ता एवं १ का वडा अध्यक्ष कपिलबहादुर खाँणले नगरपालिका भित्र सूचीकृत मेलमिलापकर्ताहरुले सम्पादन गरेको न्याय निरुपण उदहारणीय रहेको भन्दै थप प्रभावकारी कार्यान्वयनमा जोड दिए । उनले न्यायिक समितिमा विवाद बढ्दो रुपमा दर्ता भएको भन्दै समाजमा हुने विवादको मेलमिलाप मार्फत समाधान गर्न आवश्यक रहेको औँल्याए । २ का वडा अध्यक्ष कृष्ण बहादुर दर्जीले मेलमिलापकर्ताहरुको सक्रियताले समग्र वडासँगै नगरपालिकाको न्याय निरुपणको अवस्था राम्रो भएको बताए । उनले कुनै आग्रह पूर्वाग्रह नराखी वडा मै विवादको मेलमिलाप गर्नु पर्ने बताए । यसैगरी न्यायिक समिति सदस्य खेमराज अधिकारीले मेलमिलापकर्ताहरुलाई विभिन्न कानुन र न्याय निरुपण सम्बन्धी जानकारी गराई थप चलायमान बनाउनका लागि तालिमको आयोजना गरिएको बताए ।
कार्यक्रममा न्यायिक समितिमा आउने समस्याहरू, वादविवाद, मुद्दाहरू लगायतका विषयहरूमा कसरी छलफल गर्ने ?, मेलमिलापकर्ताको भूमिका, न्यायिक समिति, मेलमिलाप समितिको काम, कर्तव्य र अधिकारका विषयमा अधिवक्ता गिता आचार्यले प्रशिक्षण दिएकी थिइन् । मेलमिलापका आधारभूत सिद्धान्त, महत्त्व, पारदर्शिता तथा गोपनीयताको बारेमा प्रस्ट पारिएको तालिममा फिराद लेखन, प्रहरी, प्रकाशन र अदालतको काम लगायत विषयमा समेत उनले जानकारी गराएकी थिइन् । न्यायिक समितिका संयोजक तथा उपप्रमुख बाल कुमारी थापाको अध्यक्षता, समितिका सदस्य खेमराज अधिकारीको स्वागत, सचिवालय सचिव पार्वती परियारको सञ्चालनमा कार्यक्रम भएको थियो ।