
पाल्पा, पाल्पाको सदरमुकाम तानसेनबाट ७ किलोमिटर पर तानसेन–तम्घास रोडस्थित तानसेन नगरपालिका– ११ बन्दिपोखरामा रहेको ‘जोगीपानी कुवा’ ओझेलमा परेको छ । अनौंठो कुवाको रुपमा रहेको जोगीपानी कुवा प्रचार–प्रसारको अभावका कारण यति बेला ओझेलमा परेको हो ।
यहाँको पानी पिएपछि बोली नफुटेका वा बोल्न नसक्नेहरूको बोली फुट्छ भन्ने जनविश्वास छ । परापूर्व कालमा एक जना जोगीले तीर्थमा जाँदा रात परेको र सामाकोटमा बास बस्दा अत्यधिक प्यास लाग्दा पानीको मुहान र र नजिक वरपर घरहरू समेत नदेखेपछि हातमा लिएको चिम्टाले जमिनमा गाडेर पानी निकालेका थिए । उनै जोगीले आफूले त्यही पानीले प्यास मेटेको र अबदेखि यो पानी पिएमा वाक्य नखुलेका बच्चाहरू बोल्न सकुन् भनी आशिर्वाद दिएर त्यहाँबाट आफ्नो गन्तव्यतर्फ लागेको स्थानीयहरूको भनाइ छ । सोही समयदेखि स्थानीयले पानी निकालेको स्थानमा कुवा निर्माण गरे र ठाउँको नाम पनि जोगीपानीका नामले प्रख्यात हुन पुग्यो हो । यहाँको पानी पिउनाले बोली नफुटेका बच्चाहरुको बोलीका आएका कारण पानी लिनका लागि टाढा–टाढाबाट मानिसहरू त्यहाँ पुग्ने गर्दछन् । तर यसको व्यापक प्रचार–प्रसार हुन नसक्दा अहिले यो अनौंठो कुवा ओझेलमा परेको छ । यहाँको कुवाको पानी पिएपछि वाक्य नफुटेका बच्चाहरूको वाक्य फुटछ भन्ने विश्वास सयौं वर्षदेखि कायमै छ । कुवाको पानी पिलाउँदा पछि ढिलोसम्म बोली नफुटेका बच्चाको बोली फुट्छ भन्ने मान्यताका साथ पानी लैजाने गरेको पाइन्छ । यस्तो विश्वासमा मानिसहरू आउने गरेको र विभिन्न भाँडोमा भरेर पानी लैजाने गरेको स्थानीयको भनाइ छ । प्रचार–प्रसार हुन नसक्दा धेरैलाई यस बारेमा थाहा नै नभएको स्थानीय भुनकुमारी गहतराज बताउँछिन् । उनका अनुसार थाहा पाएकाहरु नेपालका विभिन्न जिल्लाहरू तथा भारतबाट समेत माानिस आई पानी लैजाने गरेका छन् । गहतराजले भनिन् “केही मानिसहरू कुवाको पानी पिएपछि बच्चाको वाक्य फुटेपछि यहाँ आएर पूजासमेत गर्ने गर्दछन् ।” यो कुवा बाटोको छेवमै रहेको छ । लामो समय सडक कुनाबाट पानी लैजाने गरे पनि पछि सडक विस्तार गर्ने क्रममा मासिने अवस्थामा पुगेपछि अहिले कुवा भएको ठाउँमा ट्याङ्की निर्माण गरी त्यहाँको पानी सडकदेखि तल लगेर अर्को ट्याङ्की निर्माण गरिएको छ । धेरैलाई यहाँको पानी खाएमा बोली नफुटेका बच्चाहरुको बोली फ्टुछ भन्ने थाहा नभएकाले यसको प्रचार– प्रसार भएमा राम्रो हुने स्थानीय दिलकुमारी गहतराजको भनाई छ । उनले भनिन् “केहीलाई त थाहा भएर यहाँ आएपछि गाडी रोकेर बोतलमा पानी भरेर लैजानुहुुन्छ । तर थाहा नभएकाहरु बिचरा अस्पताल गएर कति पैसा खर्च गरिरहनु भएको होला, यहाँको पानीले गाउँकै धेरै बच्चाहरुको वाक्य आएको छ ।” आफ्नो छोरीलाई ८/१० वर्षको उमेर हुँदा पनि बोली नफुटेपछि यहाँको पानी खुवाएपछि अहिले स्पष्ट बोल्न सक्ने भएको अर्की स्थानीय कमला गहतराजको भनाइ छ । पानी लिन आउँदा मानिसहरूले केही भेटी चढाउनेसमेत गरेको उनले जानकारी दिइन् ।
यहाँको पानी सञ्जिवनी बुटीसरह भए पनि प्रचार–प्रसार नहुँदा ओझेलमा परेको स्थानीयको गुनासो छ । यहाँ कुवा नजिकै बोर्ड राखिए पनि त्यसको पर्याप्त प्रचार हुन सकेको छैन् । स्थानीय सरकारले यहाँको पानीलाई थप व्यवस्थित गरी तानसेन आउने आन्तरिक तथा बाÞय पर्यटकहरुलाई समेत आकर्षित गर्न सके आम्दानीको राम्रो स्रोत समेत बन्न सक्ने पत्रकार प्रकाश नेपाल बताउँछन् । उनले स्थानीय सरकारले माल पाएर पनि चाल नपाए जस्तै भएको बताए । यहाँको पानीको महत्वलाई उजागर गर्न जरुरी रहेको पत्रकार नेपालको भनाई छ । वडा अध्यक्ष यादव सिहं कार्कीले भने यसको संरक्षण र महत्वलाई स्थानीय सरकारले प्रथामिकतामा राखेर काम गरेको बताए । उनले परापूर्व कालदेखि जोगीकुवाको निकै महत्व रहेको बताउँदै त्यही महत्व र विश्वासका कारण देश तथा विदेशबाट मानिसहरू पानी लिने आउने गरेको उल्लेख गरे ।