
बर्खा लागेपछि बाढी, पहिरो र डुबानजस्ता विपद्का घटना सुरु हुन्छन् । पहाडमा बाढी र तराईमा डुबानले बर्सेनि ठूलो संख्यामा जनधनको क्षति गर्छ । प्राकृतिक विपत्ति रोक्न नसके पनि सरकारले पूर्वतयारी गरे क्षति कम गर्न सकिन्छ तर, पूर्वतयारीको काम कागज र बोलीमा मात्रै सीमित हुँदा यसबाट ठूलो धनजनको क्षति नेपालीले व्यहोर्न बाध्य छन् ।
प्राकृतिक प्रकोप बाजा बजाएर आउँदैन र कुनै स्थान र क्षेत्र तोकेर आउँदैन । यो आकस्मिकता भए पनि थोरै सावधानी अपनाउँदा जीवन जोगाउन सकिन्छ । तर पर्याप्त सावधानी नअपनाउँदा अकालमा जीवन जाने गरेको छ भने करोडौंको भौतिक क्षति हुने गरेको छ । नेपालमा बाढी, पहिरो, आगलागी, हावाहुरी, महामारी, शीतलहर आदि प्रत्येक वर्ष आउँछन् र ठूलो परिमाणको मानवीय, भौतिक एवं अन्य क्षति पुर्याएर जान्छन् । यस्ता प्रकोपबाट बँच्न पर्याप्त सावधानी नअपनाउँदा नै क्षति हुने गरेको छ ।
वर्षाजन्य विपद् निम्त्याउन हामी आफैँ पनि जिम्मेवार छौँ । विकासका गतिविधि एवम् भौतिक पूर्वाधार निर्माणका सम्बन्धमा वैज्ञानिक भूउपयोग नीतिको परिपालना नभएका कारण बाढी पहिरोका घटना बढेका हुन । त्यसैले यस्ता सम्भावित विपद् आउन नदिन समग्रमा प्रयास हुन आवश्यक छ । विषम प्रकृतिका घटना जलवायुका कारण भइरहेको छ । यसो हुनुमा मानवीय गतिविधि जिम्मेवार छ । मानिसले आफूलाई नसुधारेसम्म स्थिति झनझन बिग्रिँदै जानेछ । वर्षेनी हुने यस्ता विपत्तिबाट पाठ नसिक्नु, पर्याप्त पूर्व तयारी नगर्नु, विपद् सामना गर्न सरकारी संयन्त्र तयारी अवस्थामा नरहनु विडम्बना हो ।
प्राकृतिक समस्या पूर्व सूचना दिएर आउँदैन भन्ने कुरा सबैलाई थाहा छ । तर यस्ता प्राकृतिक विपत्तिको दीर्घकालीन समाधान नखोजिदा वर्षै पिच्छे एउटै समस्याबाट पीडित हुनुपरेको अवस्था छ । नेपालमा स्थानीय, प्रदेश र संघीय गरी तीन तहका सरकार छन् । तर प्राकृतिक जस्तो विपत्तिबाट आमजनतालाई जोगाउने र भौतिक क्षति कम हुने दिशामा एकरत्ती पनि सोंचेका छैनन् । विपद् जस्तो संवेदनशील विषय सरकारको प्राथमिकतामा पदैन । बर्खाको समयमा कति बेला कहाँ के हुन्छ कसैलाई थाहा हुँदैन । तर विपद् आउनुपूर्व नै विशेष सावधानीका उपायहरु अवलम्बन गर्न सकियो भने केही हदसम्म भएमा पनि क्षति हुनबाट बचाउन त सकिन्छ । तसर्थ त्यसतर्फ सरकार र सम्बन्धित निकायले सोच्न जरुरी छ ।