Shittalpati
गुल्मीदरबारमा पन्ध्र शैयाको अस्पताल सञ्चालनमा

तम्घास, जिल्लाको गुल्मीदरबार गाउँपालिकाले जिल्लामै पहिलो पटक पन्ध्र शैयाको अस्पताल सञ्चालनमा ल्याएको छ । सरकारले प्रत्येक स्थानीय तहमा १५ शैयाको अस्पताल सञ्चालनमा ल्याउने योजनाअनुसार सोमबारदेखि अस्पताल सञ्चालनमा ल्याइएको हो । कुल १२ करोड ९४ लाख ५६ हजार ९ सय १३ रुपैयाँको लागतमा अस्पताल अर्जुन बिल्डर्स तम्घास गुल्मीले निर्माण गरेको थियो । अस्पतालको लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले एक कार्यक्रमका बिच अस्पतालको उद्घाटन गरेका हुन् । अस्पतालको उद्घाटन गर्दै मन्त्री कार्कीले स्वास्थ्य जस्तो संवेदनशील विषयमा प्रदेश सरकार गम्भीर रहेको बताए । 

उनले सहज र सरल रूपमा नागरिकले सेवा पाउनुपर्नेमा अधिकारका विषयमा तीनै तहकार सरकारले काम गर्दै आएको उल्लेख गरे । केही महिना पहिले गाउँपालिकाले एमबिबी एस डाक्टरको व्यवस्था गरी अस्पताल सञ्चालनका गर्न लुम्बिनी प्रदेश सरकार समक्ष आवश्यक उपकरणसमेत माग गरेको थियो । लुम्बिनी प्रदेश सरकारबाट बेड, इसिजी मेसिन, अल्ट्रासाउन्ड मेसिन, अक्सिजन सिलिन्डर, कन्सन्टेटरलगायतका स्वास्थ्य उपकरण प्राप्त भएको स्वास्थ्य शाखा प्रमुख नारायण अर्यालले जानकारी दिए । अस्पताल सञ्चालनका लागि सम्पूर्ण कार्य सम्पन्न भएकाले फागुन १ गतेबाट नियमित सेवा प्रवाह गरेको थियो । 

अस्पतालबाट दैनिक रूपमा एमविवि एस डाक्टरद्वारा चेकजाँच तथा उपचार, सहुलियत दरमा प्रयोगशाला सेवा, २४ सै घण्टा निःशुल्क प्रसुती सेवालगायतका सेवाहरू प्रवाह हुँदै आएको अर्यालले बताए । गाउँपालिकाको आन्तरिक व्यवस्थापनबाट आधारभुत अस्पताल सञ्चालनमा ल्याएको उनको भनाइ छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख २३, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update