Shittalpati
उपभोक्ता अधिकारमा क्रियाशीलताको खाँचो

कुनै पनि उपभोग्य वस्तु तथा सेवा उपभोग गर्ने व्यक्ति वा संस्था उपभोक्ता हो । एउटा क्षेत्रको व्यवसायी पनि अर्काे क्षेत्रको उपभोक्ता हो । तर, उपभोक्ता शब्द जति व्यापक छ, नेपालमा उपभोक्ताहरू त्यति नै असंगठित र निष्क्रिय छन् । नेपालमा उत्पादक–व्यवसायी तथा सेवाप्रदायकहरू संगठित छन् । उपभोक्ता अधिकार आधारभूत मानव अधिकार हो । उपभोक्ता सचेत र सक्रिय हुनै पर्छ । किनभने सक्रिय उपभोक्ताले मात्रै उजुरी गर्छन् । उत्पादक–व्यवसायी तथा सेवाप्रदायकसमेत सचेत हुनुपर्छ । तर, उपभोक्ता कानुनको प्रभावकारी कार्यान्वयन, दोषीमाथि कारवाही र स्वच्छ बजार प्रवद्र्धन हुन नसक्दा उपभोक्ता अधिकारको संरक्षण हुनै सकेको छैन । जसले उपभोक्ता निरीह बन्न बाध्य छन् । कुनै पनि अवस्थामा उपभोक्ता ठगिनु हुँदैन । वस्तु तथा सेवा उपभोगबाट हानिनोक्सानीमा पर्नुहुँदैन् । उत्पादक–व्यवसायी र सेवाप्रदायकले उपभोक्ताको अहित हुने कुनै पनि काम गर्नु प्राकृतिक तथा कानुनी दुवै दृष्टिले गलत हुन्छ । उपभोक्ताको अधिकार उपभोक्ताको स्वास्थ्यसँग जोडिएको विषय हो । वस्तु तथा सेवाको गुणस्तर र त्यसबाट सेवाग्राहीले पाउनुपर्ने सन्तुष्टि उपभोक्ताको अधिकारभित्रका विषय हुन् । तर, उपभोक्ताले वास्तविक अधिकार पाउन सकेका छैनन् । उपभोक्ताहरु पनि आफ्नो अधिकारप्रति सचेत हुन सकेका छैनन् । हरेक नागरिकलाई गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने अधिकार विद्यमान कानुनले प्रत्याभूत गरिदिएको भए पनि उपभोक्तहरु आफ्ना अधिकारमा सरोकार नदेखिनु दुखद् हो ।

उपभोक्ता हकलाई संविधानले मौलिक हकको रूपमा प्रत्याभूत पनि गरेको छ । तर, केन्द्र, प्रदेश र स्थानीय सरकारबीच समन्वय हुन नसक्दा उपभोक्ताको अधिकार सुनिश्चित तथा उपभोक्ता संरक्षण हुन सकेको छैन । उपभोक्ता अधिकार सुनिश्चित गर्न सरकारी प्रयासहरू प्रभावकारी नभएको आरोप छ । विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरू क्रियाशील छन् । तिनीहरूका प्रयासहरू असफल भएकै कारण नेपालमा उपभोक्ता हितको अवस्था कमजोर छ । नेपालमा उपभोक्ताले आफ्नो पर्याप्त अधिकारको प्रयोग गर्नै सकेका छैनन् । सरकारले उपभोक्ता शिक्षामा जोड दिन अत्यावश्क छ । उपभोक्तावादको सिद्धान्त तथा उपभोक्ताका अधिकारहरूको सार्थक कार्यान्वयनबाट मात्र स्वच्छ बजारको स्थापना गर्न सकिन्छ । असल शासनको माध्यमबाट स्वच्छ बजारको प्रवद्र्धन र उपभोक्ता अधिकारको संरक्षण गर्न सकिन्छ । गुणस्तरहीन वस्तु वा सेवा उपभोगमा शून्य सहनशीलताको नीतिबाट मात्र उपभोक्ता अधिकारको संरक्षण सम्भव छ । तसर्थ यसका लगि उपभोक्ता जागरण र क्रियाशिलताको आवश्यकता रहेको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख २३, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update