Shittalpati
नीतिगत व्यवस्था कार्यान्वयन फितलो हुँदा समस्यामा ‘यौनिक अल्पसङ्ख्यक’ 

पाल्पा (रामपुर), नीतिगत व्यवस्था कार्यान्वयन फितलो हुँदा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्याक समुदाय समस्यामा परेको छ । नेपालको संविधानले धारा १२ नागरिकताको हक, धारा १८ समानताको हक र धारा ४२ सामाजिक न्यायको हकमा यौनिक तथा लैङ्गिक अल्पङ्ख्यकको हक सुरक्षित गरेको छ । संविधानको धारा ३५(४) मा समावेशी र समानुपातिक सहभागिताको विषय उल्लेख छ । सरकारका हरेक नीति तथा कार्यक्रमले पनि लैङ्गिक तथा यौनिक अल्पसङ्यकको विषय समावेश गरेको छ । तर ति कार्यान्वयन नहुँदा समस्यामा परेको उनीहरुको गुनासो छ । 

राज्यले नीतिगत व्यवस्था गरे पनि कार्यान्वयनको पक्ष कमजोर हुँदा आफुहरु समस्यामा रहेको यौनिक अल्पसङ्ख्यक समुदायका अभियन्ताहरु बताउँछन् । यौनिक अल्पसङ्यक समुदायको अधिकारका विषयमा जिल्लाको रामपुरमा सरोकारवालासँग भएको अन्तक्र्रिया कार्यक्रममा उनीहरुले संविधानमा व्यवस्था भएअनुसार पहिचानसहितको अधिकार प्राप्त गर्न नसकेको भन्दै अझै सङ्घर्ष गर्नुपरेको बताएका छन् । साहसी कदम नेपालको आयोजना, रामपुर नगरपालिका र टेवा नेपालको आर्थिक सहयोगमा भएको कार्यक्रममा सहासी कदम नेपालका केन्द्रीय सदस्य इन्द्रादेवी सारुले सरकारले पहिचानसहितको अधिकार संविधानमा उल्लेख गरे पनि प्रभावकारी कार्यान्वयन नगर्दा आफूहरूले समस्या भोग्नु परिरहेको बताइन् । आफूहरूको मुख्य लडाइँ पहिचान र समावेशिता भएको उनको भनाइ छ । उनले परिवारबाट पनि अपहेलित भएर टाढिनु पर्ने बाध्यता रहेको भन्दै यौनिक अल्पसंख्यकका लागि सरकारले फरक नीतिगत व्यवस्था सहित कार्यान्वयनको पक्ष बलियो बनाउन आवश्यक रहेको औल्याइन् । अभियन्ता भूमिका श्रेष्ठले यौनिक अल्पसंख्यक समुदायका मानिसलाई समाजको फरक दृष्टिकोण र गलत बुझाइका कारण अपहेलनाको सिकार बन्नु परेको बताइन् । संस्थाका प्रबन्ध निर्देशक रेश्म न्यौपानेले यौनिक तथा लै·िक अल्पसङ्ख्यक समुदायमाथिको बुझाइमा केही परिवर्तन आए पनि अझै विभेद र लाञ्छनाको अन्त्य नभएको बताउँछन् । यो समुदायले नागरिकता, विवाह, सम्पत्तिलगायत क्षेत्रमा कानुनमै विभेद खेपिरहनुपरेको उनको गुनासो छ । “नेपालको नागरिक भए पनि अन्य नागरिक जस्तै समान हक पाएका छैनौँ । फरक पहिचान भएकै कारण घरपरिवार र समुदायबाट अपहेलित हुनुपरेको छ । सङ्घर्षपश्चात् विवाह गर्ने अधिकार स्थापित भए पनि सन्तानको हकमा कानुनी समस्या कायमै छ । नागरिकता पाउन लि· पुष्ट्याइँ गर्नुपर्नेजस्ता विभेदकारी अवस्थाहरू छन्”, न्यौपानेले भने ।

कार्यक्रम संयोजक सुरज थापाले रामपुर नगर भित्र पनि यौनिक तथा अल्पसंख्यक समुदाय भन्न नसक्ने र खुल्न नचाहने धेरै रहेको बताइन् । कार्यक्रममा रामपुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख तथा उपप्रमुख बालकुमारी थापाले स्थानीय तहको सिमित स्रोत र साधनकाबिच पनि यौनिक तथा अल्पसंख्यक समुदायको हितका लागि नीतिगत व्यवस्था सहित कार्यान्वयनका लागि बजेट र कार्यक्रमको व्यवस्था गरेको बताइन् । नगर भित्र रहेका यौनिक अल्पसंख्यक समुदायको अधिकार सुनिश्चतताका लागि नगर सरकार प्रतिबद्ध रहेको उनको भनाई छ । थापाले नगरपालिका भित्र पनि यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरु रहे पनि खुल्न नचाहेको उल्लेख गरिन् । उपप्रमुख थापाले समाजको डरले गर्दा यौनिक अल्पसंख्यक समुदायका व्यक्ति खुल्न नचाहेको बताउँदै यस समुदायको उत्थान र सहज रुपमा खुलेर जिउने वातावरण बनाउन नगरपालिका प्रतिबद्ध रहेको बताइन् ।

प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update