Shittalpati
लुम्बिनी नाट्य रत्नद्वारा अथक सम्मानित 

पाल्पा, पाल्पाली साहित्यकार तथा ऐतिहासिक नाटक सङ्ग्रह ‘अमरपात्र’ का लेखक  पुष्कर अथक रेग्मी ‘लुम्बिनी नाट्य रत्न सम्मान २०८२’ बाट सम्मानित भएका छन् ।  लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपालले एक कार्यक्रमकाबिच बुटवलमा  सम्मान गरेको हो ।

अथकलाई प्रमुख अतिथि लुम्बिनी प्रदेशका सभामुख तुलबहादुर घर्ती र प्रतिष्ठानका अध्यक्ष ऋषि आजादले सम्मान गरेका हुन् । प्रतिष्ठानले अथक सहित लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका एक दर्जन  स्रष्टाहरूलाई समेत  सम्मान गरेको छ ।  रेग्मी पाल्पा साहित्य समाज, शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपालका अध्यक्ष र शीत काव्य समाज नेपालका परिकल्पनाकार समेत हुन् । उनले पाल्पाको साहित्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका छन् । काव्य आख्यान निबन्ध र नाटक चारैवटा विधामा दुई दर्जनभन्दा बढी कृति प्रकाशित गरिसकेका अथकले ऐतिहासिक नाटक संग्रह ‘अमरपात्र’ प्रकाशित गरिसकेका छन् । 

मोफसलमा बसेर पाल्पाका राजा मणिमुकुन्द सेन, राजा पृथ्वीपालसेन, काजी अमरसिंह थापा र कर्णेल उजिरसिह थापाको जीवनीमा आधारित नाट्यकृति प्रकाशित गरेको र नेपाली नाट्यकृति प्रकाशनको क्रममा सहयोग पु र्‍याए बापत अथकलाई सम्मान गरिएको प्रतिष्ठानले जनाएको छ । कार्यक्रममा लोकार्पण गरिएको ग्रन्थ ‘नेपाली नाट्यविमर्श’ चारखण्डमा संरचित छ । पहिलो खण्डमा अनुसन्धान,दोस्रो कार्यपत्र , तेस्रो वार्ता र चौथो परिशिष्ट खण्ड रहेको छ । ग्रन्थ नेपाली नाट्य वाङ्मयको ऐतिहासिक दस्तावेजको रूपमा रहने छ । प्रतिष्ठानले बुटवल उपमहानगरपालिकाको सहकार्यमा नेपाली नाट्यप्रतिष्ठान पोखराद्वारा प्रकाशित ग्रन्थ ‘नेपाली नाट्यविमर्श’ लोकार्पण विमर्श एवं सम्मान कार्यक्रमको गरेको हो ।

प्रकाशित मिति: शनिबार, वैशाख २०, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update