पाल्पा, जिल्लाको रामपुरका महिलाहरुलाई उद्यम विकास तालिम प्रदान गरिएको छ । नगरपालिकाले यहाँका महिलाहरुलाई उद्यमशील बनाउने उद्देश्यले तालिम प्रदान गरेको हो ।
उनीहरुलाई पोते, माला तथा चुरा बनाउने तालिम प्रदान गरिएको छ । उपप्रमुख ग्रामीण महिला उत्थान कार्यक्रम अन्तर्गत १३ दिने तालिम सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ । तालिमको नगरपालिकाका कार्यवाहक नगर प्रमुख तथा उपप्रमुख बालकुमारी थापाले शुभारम्भ गरेकी हुन् । तालिमको शुभारम्भ गर्दै उनले स्थानीय उत्पादनको अभिवृद्धि गरी रामपुरलाई आत्मनिर्भर बनाउनका लागि विभिन्न उत्पादनमूलक तालिम सञ्चालन गर्दै आएको बताइन् ।
उनले दैनिक जीवनमा आवश्यक पर्ने वस्तुको उत्पादन गरी नगरलाई आत्मनिर्भर बनाई आर्थिक समृद्धिका लागि विभिन्न सिपका आयमूलक तालिम सञ्चालन गर्दै आएको उल्लेख गरिन् । सिपमूलक तालिमले महिलाहरुलाई आर्थिक रुपमा सबल र आत्मनिर्भर बनाउने भन्दै यस्ता तालिमले महिलाहरुको जीवनस्तर उकासेको बताइन् । विभिन्न समयमा सञ्चालन गरेका तालिमबाट सिप सिकेका महिलाहरुले उत्पादन गरेका सामग्री नगरपालिकाले खरिद गरेर बजारको समेत प्रवर्द्धन गर्दै आएको थापाको भनाई छ । उपप्रमुख थापाले उद्यम विकास सम्बन्धी तालिमले उद्यमी बन्ने सोँचमा रहेका महिलाहरुलाई सफल व्यवसायी बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरिन् । कार्यक्रममा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत चेमन प्रकाश पोखरेलले आर्थिक समृद्धि र जिविकोपार्जनका लागि सिपमूलक तालिम महत्वपूर्ण रहेको उल्लेख गरे । उनले सिपले अर्थोपार्जन गर्ने भन्दै ज्ञानसिपको सही प्रयोग गर्नु पर्ने बताए । यस्तै नगरपालिकाका नगर प्रवक्ता एवं १ का वडा अध्यक्ष कपिलबहादुर खाँणले गुणस्तरीय र बाह्य वस्तुसँग प्रतिस्पर्धा गर्न सक्ने सामग्री उत्पादन गर्नु पर्ने आवश्यकता औँल्याए ।
प्रतिस्प्रर्धा गर्न सक्ने गुणस्तरीय उत्पादन गर्न सके मात्र व्यवसायिक सफलता हासिल गर्न सकिन उनको भनाई छ । कार्यक्रममा २ का वडा अध्यक्ष कृष्णबहादुर दर्जीले ज्ञानसिपको प्रयोग गरी व्यवसायी बन्न आग्रह गरे । कार्यपालिका सदस्य मायादेवी नेपालीले तालिमलाई तालिममा मात्र सिमित गर्न नहुने भन्दै जीवन उपयोगी बनाउनु पर्नेमा जोड दिइन् । तालिममा सिप सिकेर उद्यमी बन्न चहाने महिलाहरुलाई सिर्जनात्मक र परम्परागत व्यवसाय शैलीलाई व्यवसायिक बनाउन साथै व्यवसायिक योजना बनाउन सिकाईने उद्यम विकास सहजकर्ता रुपेश सिंजापतिले बताए । सहभागीहरुलाई ४ दिन उद्यम विकास सम्बन्धी तालिम र त्यस पश्चात १३ दिनसम्म पोते माला तथा चुरा बनाउने तालिम प्रदान गरिने छ । कार्यवहाक नगर प्रमुख बालकुमारी थापाको अध्यक्षता, २ का वडा अध्यक्ष कृष्णबहादुर दर्जीको स्वागत र महिला बालबालिका शाखा प्रमुख पुजा परियारको सञ्चालनमा कार्यक्रम भएको हो ।