
पाल्पा, आज मातातीर्थ औँसी । आमाको मुख हेर्ने पर्वको रुपमा जन्मदिने आमाप्रति श्रद्धा, भक्ति र सम्मानका साथ देशभर मनाइँदैछ । वैशाख कृष्ण औँसीका दिन मनाइने यो पर्वमा बिहान स्नान गरी शुद्ध भएर आफ्नी आमालाई सुन्दर वस्त्र लगाइदिने तथा मीठा र तागतिला खानेकुरा ख्वाएर आशीर्वाद लिने चलन छ ।
आमा नभएकाहरु भने आमाको श्राद्ध गरी स्मरण गर्दछन् । यसो गरेमा मातृऋणबाट मुक्ति मिल्ने शास्त्रीय मान्यता छ । आज सामाजिक सञ्जालहरु रंगिएका छन्, आमालाई कोशेली किन्नको लागि पसल र मिठाई पसलमा केहि चहलपहल पनि थपिएको छ । छोराछोरी र नानि नातिनीहरू भेट्न जादा आमाहरु केहि खुशी देखिएका छन् । सामाजिक सञ्जालमा आमाका तस्विरहरु छन्, आमाका गुणगान छन् । शास्त्रमा बाबुभन्दा आमा दशगुणा बढी मान्य हुन्छिन् भनी व्याख्या गरिएको पाइन्छ ।
‘मातृदेवो भवः’ भनेर सबैभन्दा पहिले भनिन्छ, त्यसपछि मात्र ‘पितृदेवो भवःयसैबाट शास्त्रले आमालाई महत्व दिएको स्पष्ट हुन्छ । जीवित अथवा दिवंगत दुवै आमाको तृप्तिका लागि आजको दिनलाई पुण्यतम पर्व मानिन्छ । भगवान विष्णुले मातृवियोगबाट विह्वल व्यक्तिलाई मातातीर्थ कुण्डमा स्नान गर्न लगाई माताको दर्शन गराएको भन्ने मान्यताका साथ हिन्दू धर्मालम्वीले मातातीर्थ औंसी मनाउने गर्दछन् । जन्म दिने आमा र जन्म भएको धर्ती स्वर्ग समान हुन् भन्ने पौराणिक मान्यता छ । स्वस्थानी व्रतकथा अनुसार यस तीर्थमा सतीदेवीको अंग पतन भइ मातुलेश्वर महादेवको उत्पत्ति भएको थियो । त्यहाँ शास्त्रीय विधिबाट गरिने कर्मकाण्डबाट मृत आमाले मोक्ष पाउने तथा सन्तानले जीवनभर सुख पाउने विश्वास गरिन्छ ।