Shittalpati
रामपुरमा २५ वेडको आइसोलेशन वेड तयार

इमान सिं राना
पाल्पा (रामपुर) । शहिद बहुमुखी क्याम्पस रामपुर ७ किसानबारीमा २५ वेडको आईसोलेशन वेड तयार गरिएको छ । कोरोना पोजेटिभ देखिएका विरामीहरुको व्यवस्थापनको लागि रामपुर नगरपालिका र निस्दी गाउँपालिकाले संयुक्त रुपमा बेड तयार गरेका हुन् । जेठ २ गते तानसेनमा भएको सर्वपक्षिय बैठक अनुसार निस्दी र रामपुरले रामपुरमा ५० वेडको आइसोलेशन निर्माण गर्ने भनिएको थियो । पछिल्लो समय भारतबाट फर्किने युवाहरुको संख्या वृद्धिसँगै कोरोना पोजेटिभ देखिन थालेपछि चार दिनदेखि गोरखदल गण रामपुर सुरक्षा गुल्मका नेपाली सेनाले निर्माण सुरु गरेको थियो । ५० वेड निर्माण गर्ने भनिए पनि अहिले तत्कालको लागि २५ बेड तयार भएको रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापाले बताए ।

उनले आइसोलेशनमा वेडसंगै छुट्टै शौचालय, नुहाउने स्थान, शुद्ध पिउने पानी, क्यान्टिनको व्यवस्था, मोबाईल चार्ज तथा पानी तताउन विद्युत लाईन जडान, इन्टरनेट, आवश्यक सञ्चारका लागि इन्टरफोन जडान, निगरानीको लागि सिसिटीभी क्यामेरा जडान गरिएको जानकारी दिए । अहिलेलाई क्याम्पसको एउटा भवनका कोठाहरुमा बेड तयार गरिएको छ । अरु बेड क्याम्पसको अन्य ब्लकमा निर्माण गरिदै लगिने निस्दी गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले बताए । आइसोलेशन व्यवस्थापन समितिका संयोजक एवं रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ऋषिराम आचार्यले आवश्यक चिकित्सकहरुको व्यवस्था भइसकेको जानकारी दिए ।

उनले पोजेटिभ देखिएका सामान्य विरामीहरुलाई चिकित्सकहरुको निगरानीमा उपचार गरिने बताए । आचार्यले आइसोलेशन कक्ष नेपाली सेनाको सुरक्षामा रहने बताए । आइसोलेशन बेड निर्माणको जिम्मा नेपाली सेनाले लिएको छ भने सुरक्षामा नेपाल प्रहरी पनि खटिएको छ । हाल रामपुर नगरपालिकामा २ जना र निस्दी गाउँपालिकामा २ जना कोरोना पोजेटिभ देखिएका छन् । उनीहरु मध्ये निस्दीको तानसेनमा बनेको आइसोलेशनमा लगिएको छ भने अन्य २ जना रामपुर ४ को सिताराम माध्यमिक विद्यालयमा नै रहेका छन् । आइसोलेशन वेड तयार भएपनि रामपुर नगरपालिकामा देखिएका कोरोना पोजेटिभ २ युवाहरुलाई सोमबार मात्र आइसोलेसनमा लगिने भएको छ ।

जेठ २१ गते संक्रमण पुष्टी भएका उनीहरुलाई क्वारेन्टाइन मै पुनः पिसिआर परीक्षण गरेर मात्र आइसोलेशनमा लगिने भएको हो । आईसोलेसन कक्षमा रामपुर र निस्दीका कोभिड १९ संक्रमितलाई राखी उपचार गरिने छ । नेपाली सेना, नेपाल प्रहरी, स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक निरन्तर रहने छन् । सर्वपक्षिय बैठकमा पाल्पाको १० स्थानीय तह मध्ये निस्दी र रामपुरको सहयोगमा रामपुरमा ५० वेड, रम्भा र पूर्वखोला मिलेर ताहुँमा १० वेड, माथागढी, तिनाउँ, बगनासकाली र तानसेनको सहयोगमा तानसेनमा ५० वेड, रिब्दीकोट र रैनादेवी छहरा मिलेर खस्यौलीमा १० वेडको आइसोलेशन तयार गर्ने निर्णय भएको थियो ।

प्रकाशित मिति: मंगलबार, जेठ २७, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update