Shittalpati
पाल्पा अस्पतालको मास्टर प्लान तयार

तानसेन । पाल्पा जिल्ला अस्पतालमा ५० शैयाको क्षमता स्तरवृद्धि र अत्याधुनिक भवन निर्माणको गुरुयोजना तयार भएको छ । अस्पतालले सोमवार सो गुरु योजना एक कार्यक्रमका बीच सार्वजनिक गरेको हो । जिल्लाका दल, प्रदेश सांसद तथा सरोकारवाला र सञ्चारकर्मीहरु बीच सो मास्टरप्लान सार्वजनिक गरिएको गरियो । जिल्ला अस्पताल विकास समितिको तर्फबाट समितिका अध्यक्ष नेत्र पाण्डेले ६१ करोडको लगानीमा ५० शैया भन्दा बढी क्षमता भएको अत्याधुनिक भवन निर्माण कार्य शुभारम्भका लागि मास्टर प्लान तयार गरी सोमबार सार्वजनिक गरेका छन् । उनले भने ‘समयले साथ दियो भने, अस्पतालको मास्टर प्लानका आधारमा अगामी बर्ष नै नयाँ भवन निर्माणको काम शुरु गरिने छ ।’

प्रदेश पाँचको सामाजिक विकास मन्त्रालयले मास्टर प्लानका लागि पाँच लाख रकम विनियोजन गरेको थियो । पाल्पा अस्पतालको तर्फबाट आयोजित छलफल कार्यक्रम तथा प्रस्तुतिकरण कार्यक्रममा प्रदेश सांसद बीरबहादुर रानाले, मास्टरप्लान अत्यान्तै उपयोगी हुने धारणा व्यक्त गर्दै, शिक्षा, स्वास्थ्य र पर्यटनको अवधारणा वोकेको तानसेनको समग्र स्वास्थ्य क्षेत्रमा यो अस्पताल नौलो कायाम बन्ने विचार व्यक्त गरे ।नेकपाका नेता धनेन्द्र घिमिरेले, प्रदेश र संघबाट बजेटको व्यवस्था गरेर छिटो भन्दा छिटो निर्माण कार्य शुरु गर्नुपर्ने धारणा व्यक्त गरे ।

जनमोर्चा पाल्पाका नेता विशाल दर्लामीले, यो अस्पतालको क्षमता वृद्धि मात्रै नभएर स्तर वृद्धिका साथै आधुनिक भवन निर्माण पछि जनताले सरल र सुलभ रुपमा स्वास्थ्य सेवा प्राप्त गर्न सक्ने धारणा व्यक्त गरे । अस्पतालका मेडिकल सुपरीटेन्ड जगदीश कुंवरले अस्पतालको सही व्यवस्थापनका लागि भौतिक पूर्वाधार आवश्यक भएको औल्याए । राप्रपाका नेता डुलबहादुर कुंवरले, निर्माणको कार्य छिटो भन्दा छिटो शुरु गर्नुपर्ने धारणा व्यक्त गरे । अस्पताल विकास समिति निर्माण भए पछि पाल्पा अस्पतालमा दिन प्रति दिन राम्रा काम भई रहेकोमा सबैले प्रसंशा गरेका थिए ।

प्रकाशित मिति: सोमबार, जेठ २६, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update