 
                                                                    पाल्पा, उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल राष्ट्र बैंकको गभर्नर योग्य र सक्षम पात्रलाई नियुक्त गर्ने तयारी सरकारले गरिरहेको बताएका छन् । शनिबार नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाले तानसेनमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले सरकारले छिट्टै नै योग्य र सक्षम नियुक्त गर्न लागेको बताएका हुन् ।
पत्रकारहरुले राखेका जिज्ञासाको जवाफ दिदै मन्त्री पौडेलले भने “बजारमा अहिले गरिएको चर्चा जस्तो हुँदैन्, यो विषयमा अहिले अनावश्यक चर्चा चलेका छन्, सरकारले क्या राम्रो निर्णय गर्यो भन्ने सन्देश जाने गर्ने गरि निर्णय छिट्टै आउँछ, चिन्ता गर्नु पर्दैन ।” फरक प्रसंगमा उनले प्रतिगामी तत्वहरु जनस्तरबाटै परास्त हुँदै गएको बताए । राजा ल्याउने अभियानमा लागेका प्रतिगामी तत्वले पहिलो पटक टाउको उठाएकै बखत निस्तेज भएको उनको भनाई छ । मन्त्री पौडेलले भने “हाम्रो काम लोकतन्त्रलाई संस्थागत गर्ने हो, त्यो गर्छाै ।” मुलुकको लोकतन्त्र र संविधान मास्न खोज्ने तत्व जति नै लागे पनि जनताले लोकतन्त्रिक व्यवस्थामा देखा परेका केही अवस्थामा सुधार चाहेको मन्त्री पौडेलको भनाई छ । उनले अराजकता फैलाउने जो सुकै भए पनि सरकारले कानुनको दायरामा ल्याएरै छाड्ने भन्दै विश्वस्त रहन पत्रकारहरुलाई आग्रह गरे ।
मन्त्री पौडेलले आव २०८२/०८३ को बजेट निर्माणको काम समेत शुरु भएको बताए । उनले भने “यो पटकको बजेट प्रतिफल दिने खालको हुन्छ, नीजी क्षेत्र र उत्पादनको क्षेत्रलाई प्राथमिकता दिने काम गर्छाै ।” पाल्पा र आसपासका क्षेत्रको विकासका लागि आफू गम्भीर भएर लागेको पनि उनले उल्लेख गरे ।मन्त्री पौडेलले सहकारी क्षेत्रको वित्तीय व्यवस्थापन, आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने, भ्रष्टाचार न्युनिकरण, सेवा प्रवाहमा तदारुकताका साथ अगाडि बढ्ने कार्यमा वर्तमान गठबन्धन सरकार प्रतिवद्ध भएर लागेको समेत बताए । नेपाल पत्रकार महासङघ पाल्पाका अध्यक्ष कमल तिमिल्सेनाको अध्यक्षता, उपाध्यक्ष मुक्तिप्रसाद न्यौपानेको स्वागत, सचिव रामचन्द्र रायमाझीको सञ्चालनमा कार्यक्रम भएको थियो ।


 
                                        -1721213853.jpg) 
                                         
                                         
                                         
                     
                     
                    
 
                     
                     
                     
                     
                    