Shittalpati
एलएमसीको आइसोलेशनमा उपचाररत एकको मृत्यु, दुईको कोरोना पुष्टि

पाल्पा । तानसेनस्थित लुम्बिनी मेडिकल कलेज (एलएमसी)को आइसोलेशन कक्षमा उपचारत चार जना मध्ये एक जनाको मृत्यु भएको छ भने दुई जनामा कोरोना पुष्टि भएको छ । आइसोलेशनमा उपचार गराइरहेका गुल्मी मालिका गाउँपालिका ३ का ६८ वर्षीय पुरुषको मृत्यु भएको हो । उनलाई श्वास फेर्न गाह्रो भएपछि शनिबार अस्पताल भर्ना गरिएको थियो । दमको उपचार गर्दागर्दै सोमबार विहान १२ः४५ मा उनको मृत्यु भएको अस्पतालका अध्यक्ष गोपाल पोखरेलले जानकारी दिए । उनको उपचारकै क्रममा स्वाब संकलन गरी प्रादेशिक प्रयोगशाला भैरहवा पठाइएको थियो ।आइतबार स्वाब पठाइएकोमा सोमबार पिसिआर रिपोर्ट भने नेगेटिभ आएको छ ।

त्यस्तै सँगै आइसोलेशन कक्षमा उपचार गराइरहेका गुल्मी रूरू गाउँपालिका १ का ३२ वर्षका पुरूष र पाल्पा पूर्वखोला गाउँपालिका १ सिलुवाका २३ वर्षीय पुरुषको कोरोना रिपोर्ट भने पोजेटिभ आएको अस्पतालका अध्यक्ष पोखरेलले बताए । सोमबार प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा उनीहरुको पिसिआर परीक्षण गरिएको थियो ।

उपचाररत पूर्वखोलाकै अर्को एक पुरुषको भने कोरोना रिपोर्ट नेगेटिभ आएको छ । सिलुवाका २३ वर्षीय पुरुष भने जेठ २० गते मृत्यु भएका ४६ वर्षीय पुरुषसंगै भारतबाट आएका थिए । पोजेटिभ देखिएका दुई जनालाई अस्पतालको कोरोना सेन्टरमा राखेर उपचार भइरहेको अस्पतालका अध्यक्ष पोखरेलले बताए । उनका अनुसार रिपोर्ट नेगेटिभ देखिएका पुरुषलाई भने घर पठाउने तयारी भएको र मृतकलाई अस्पतालकै शव गृहमा राखिएको छ ।

प्रकाशित मिति: सोमबार, जेठ २६, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update