
पाल्पा (रामपुर) । शहिद बहुमुखी क्याम्पस रामपुर ७ किसानबारीमा २५ वेडको आईसोलेशन वेड तयार गरिएको छ । कोरोना पोजेटिभ देखिएका विरामीहरुको व्यवस्थापनको लागि रामपुर नगरपालिका र निस्दी गाउँपालिकाले संयुक्त रुपमा बेड तयार गरेको हो ।
जेठ २ गते तानसेनमा भएको सर्वपक्षिय बैठक अनुसार निस्दी र रामपुरले रामपुरमा ५० वेडको आईसोलेशन निर्माण गर्ने भनिएको थियो । पछिल्लो समय भारतबाट फर्किने युवाहरुको संख्या वृद्धि संगै कोरोना पोजेटिभ देखिन थाले पछि चार दिन देखि गोरखदल गण रामपुर सुरक्षा गुल्मका नेपाली सेनाले निर्माण सुरु गरेको थियो । ५० वेड निर्माण गर्ने भनिय पनि अहिले तत्कालको लागी २५ बेड तयार भएको रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले बताए । सर्वपक्षिय बैठकमा पाल्पाको १० स्थानिय तह मध्ये निस्दी र रामपुरको सहयोगमा रामपुरमा ५० वेड, रम्भा र पूर्वखोला मिलेर ताहुँमा १० वेड, माथागढी, तिनाउँ, बगनासकाली र तानसेनको सहयोगमा तानसेनमा ५० वेड, रिब्दीकोट र रैनादेवी छहरा मिलेर खस्यौलीमा १० वेडको आईसोलेसन तयार गर्ने निर्णय भएको थियो । संक्रमित देखिन थाले पछि तत्कालको लागि २५ वेड तयार गरिएको र बाँकी थप गर्दै जाने थापाले बताए । उनले आईसोलेसनमा वेड संगै छुट्टै शौचालय, नुहाउने स्थान, शुद्ध पिउने पानी, क्यान्टिनको व्यवस्था, मोबाईल चार्ज तथा पानी तताउन विद्युत लाईन जडान, इन्टरनेट, आवश्यक सञ्चारका लागि इन्टरफोन जडान, निगरानीको लागि सिसिटीभी क्यामेरा जडान गरिएको जानकारी दिए । अहिलेलाई क्याम्पसको एउटा भवनका कोठाहरुमा बेड तयार गरिएको छ । अरु बेड क्याम्पसको अन्य ब्लकमा निर्माण गरिदै लगिने निस्दी गाउपालिकाका अध्यक्ष मुक्त बहादुर सारुले बताए ।
आईसोलेशन व्यवस्थापन समितिका संयोजक एवं रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ऋषिराम आचार्यले आवश्यक चिकित्सकहरुको व्यवस्था भैसकेको जानकारी दिए । उनले पोजेटिभ देखिएका सामान्य विरामीहरुलाई चिकित्सकहरुको निगरानीमा उपचार गरिने बताए । आचार्यले आईसोलेशन कक्ष नेपाली सेनाको सुरक्षामा रहने बताए । आइसोलेसन बेड निर्माणको जिम्मा नेपाली सेनाले लिएको छ भने सुरक्षामा नेपाल प्रहरी पनि खटिएको छ । हाल रामपुर नगरपालिकामा २ जना र निस्दी गाउपालिकामा २ जना कोरोना पोजेटिभ देखिएको छ । उनीहरु मध्ये निस्दीको तानसेनमा बनेको आइसोलेशनमा लगिएको छ भने अन्य २ जना रामपुर ४ को सिताराम माध्यमिक विद्यालयमा नै छन् । आईसोलेशन वेड तयार भए पनि रामपुर नगरपालिकामा देखिएका कोरोना पोजेटिभ २ युवाहरुलाई सोमबार मात्र आईसोलेसनमा लगिने भएको छ । जेठ २१ गते संक्रमण पुष्टी भएका उनीहरुलाई क्वारेन्टाईन मै पुनः पिसिआर परिक्षण गरेर मात्र आईसोलेशन लगिने भएको हो । आईसोलेसन कक्षमा रामपुर र निस्दीका कोभिड १९ संक्रमितलाई राखी उपचार गरिने छ । नेपाली सेना, नेपाल प्रहरी, स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक निरन्तर रहनेछन् ।