
कृष्ण पोखरेल
पाल्पा । प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले कोरोना संक्रमण रोकथामका लागि स्थानीय सरकारसँग समन्वय गरेर जाने बताएका छन् । हालै सुर्खेतबाट पाल्पा सरुवा भई आएका प्रजिअ न्यौपानेले समुदाय स्तरमा कोरोना सक्रमण आउन नदिन जिल्लाका स्थानीय तहदेखी जनप्रतिनिधी, सुरक्षाकर्मी पत्रकारहरुसँग समन्वय गरी काम गर्ने बताएका हुन् ।
पाल्पाली पत्रकारहरु सँगको भेटघाट प्रजिअ न्यौपानेले मिडियासँग सहकार्य गरी जिल्लामा इमान्दार, कर्तव्यनिष्ट, निष्टापूर्वक काम गर्ने बताए । जिल्ला प्रशासन कार्यालयलाई सूचना मैत्री बनाउने, प्रशासनले गरेका हरेक गतिविधी वेभसाईटमा अपडेट गर्ने, सबै सँग मिलेर काम गरी सुन्दर शान्त पाल्पा लाई अझ राम्रो बनाउन प्रयास गर्ने प्रजिअ न्यौपानेले प्रतिवद्धता जनाएका छन् । कार्यक्रममा हालै जुम्लामा प्रमुख जिल्ला अधिकारी भई पाल्पामा सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा आएकी दुर्गा बञ्जाडेले स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकता दिई काम गर्ने बताईन ।
जिल्लामा पिसिआर टेष्ट निकै कम भएको छ, जसको कारण रोगीहरुको पहिचान हुन सकेको छैन हामी सबैको मिलेमोतोमा जिल्लामा पिसिआर टेष्ट बढाउन काममा खटिने सहायक प्रजिअ बञ्जाडेले बताईन । कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष राजेश कुमार अर्यालले प्रजिअको भूमिका प्रभावकारी हुनुपर्ने बताए । प्रजिअको क्षमतामा जिल्लामा हरेक कुराहरु निर्भर रहने, विकास निर्माणका काम देखी क्वारेन्टाइन, आइसोलेसनको व्यवस्थापनमा ध्यान दिन अध्यक्ष अर्यालले सुझाव दिए ।
पत्रकार भरत शर्मा, मिलन विक, विष्णु पाण्डे, दयाराज न्यौपाने, यज्ञमुर्ति तिमिल्सीना, राजेन्द्र लिगल, विष्णु नेपाल, कृष्ण पोखरेल, नारायण न्यौपाने लगायतले असल प्रजिअको रुपमा भुमिका खेल्न सुझाव दिएका थिए । जिल्ला प्रशासन कार्यालयमा प्रजिअ न्यौपाने, सहायक प्रजिअ बञ्जाडे र प्रशासकीय अधिकृत यज्ञेश्वर पन्थी तीनै नयाँ भएकाले तिनै जनाको सहभागितामा पत्रकार भेटघाट गरिएको थियो ।