Shittalpati
बगनासकालीका स्वास्थ्यकर्मीलाई संक्रमण रोकथाम सम्बन्धी प्रशिक्षण

पाल्पा । विश्वभर फैलिएको कोरोना महामारीको संक्रमणबाट चिकित्सक सहित स्वास्थ्यकर्मी समेत अछुतो रहन सकेनन् । संक्रमितको उपचारमा संलग्न अधिकांश स्वास्थ्यकर्मीहरुले पर्याप्त मात्रमा सतर्कताका उपायहरु अपनाउन नसक्दा संक्रमण फैलिएको स्वास्थ्य क्षेत्रमा कार्यरत व्यक्तिहरुले बताएका छन् । स्वास्थ्यकर्मीहरुलाई पर्याप्त मात्रमा प्रशिक्षण नहुँदा संक्रमण देखिएका बेला जिल्लाको बगनासकाली गाउँपालिकाले भने स्वास्थ्यकर्मीहरुलाई संक्रमण रोकथाम सम्बन्धी प्रशिक्षण दिएको छ ।

गाउँपालिकाले सबै वडामा कार्यरत स्वास्थ्यकर्मीहरुलाई संक्रमण रोकथाम तथा नियन्त्रण विज्ञको टोलीबाट प्रशिक्षण दिएको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्यालले बताए । उनले भने ‘विरामीहरुको उपचार कसरी गर्ने, स्वास्थ्यकर्मी कसरी सतर्क रहने, उपचारमा के–के उपायहरु अवलम्बन गर्ने जस्ता विषयमा पर्याप्त मात्रामा ज्ञान नहुँदा देशमा संक्रमण फैलिदै गएकाले पूर्व सतर्कता अपनाउन स्वास्थ्यकर्मीलाई प्रशिक्षण दिएका हौं ।’ पाल्पामा पनि कोरोना संक्रमितहरुको संख्या बढ्दै गएपछि जिल्लाका स्थानीय तहहरुले आइसोलेशन सेन्टर खोल्ने गरी तयारी थालेका छन् । उक्त आइसोलेशन सेन्टरका लागि पनि स्वास्थ्यकर्मीहरु तयारी अवस्थामा राख्न उनीहरुलाई प्रशिक्षण दिइएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीले बताए । उनका अनुसार गाउँपालिकाका सबै वडामा कार्यरत ४७ जना स्वास्थ्यकर्मीलाई सेवा प्रवाह गर्दा आफु र अरुलाई कसरी सुरक्षित राख्न सकिन्छ र सेवा प्रवाह कसरी सहज रुपमा प्रदान गर्न सकिन्छ भन्ने विषयमा विशेषज्ञ सहितको टोलीबाट प्रशिक्षण दिइएको हो । दुई चरणमा प्रशिक्षण सञ्चालन गरिएको थियो । प्रशिक्षणमा युनाईटेड मिसन अस्पतालकी संक्रमण रोकथाम विशेषज्ञ एञ्जल किंम, तानसेन नर्सिङ्ग स्कूलका प्रिन्सिपल सकुन्तला थाँजु, पाल्पा अस्पतालका डा.इन्द्रिरा देवकोटा लगायतले प्रशिक्षण दिएका थिए ।

प्रकाशित मिति: शनिबार, जेठ २४, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update