
रमेश विश्वकर्मा
गुल्मी । जिल्लाको रेसुङ्गा नगरपालिकामा पछिल्लो समय भारतबाट आएका ३ सय ९४ जना क्वारेन्टाइनमा रहेका छन् । जसमा ३ सय ४१ जना पुरुष र ५३ जना महिला रहेका हुन् । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण भारत लगायतका तेस्रो मुलुकबाट आएका नागरिकलाई क्वारेन्टाइनमा राखिएको छ । महेन्द्र नमुना माध्यमिक विद्यालय चिदिचौरमा बनाइएको क्वारेन्टाइनमा ३० जना रहेका छन् । रेसुङ्गा बहुमुखी क्याम्पसमा ६६ जना, रेसुङ्गा माविको क्वारेन्टाइनमा ३७ जना रहेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बोम अर्यालले जानकारी दिए ।
त्यस्तै वडा ४ मा रहेको सेउघा निमाविको क्वारेनटाइनमा २९ जना, वडा नं. ५ को जनसहयोग माविमा २ जना, वडा नं. ६ मा रहेको साउनेथुम प्राथमिक विद्यालयमा १० जना क्वारेन्टाइनमा रहेका छन् । वडा नं. ८ मा रहेको सिद्धबाबा माध्यमिक बिद्यालयमा ३६ जना, वडा नं. ९ उपल्लो तम्घास माध्यमिक विद्यालयमा १२ जना, वडा नं. १० सिमिचौरमा रहेको भगवती माध्यमिक विद्यालयमा ९३ जना क्वारेन्टाइनमा रहेका छन् । वडा नं.११ मा रहेको राङबास माध्यमिक विद्यालयमा ११ जना, रेसुङ्गा नगरपालिका १२ मा रहेको रानिपोखरी माध्यमिक विद्यालयमा ३६ जना, रेसुङ्गा नगरपालिका १३ मा रहेको घोर्ले माध्यमिक विद्यालयमा ३६ जना, वडा न. १४ को जनविकास माध्यमिक विद्यालयमा १६ जना नागरिक क्वारेन्टाइनमा रहेको स्वास्थ्य शखा प्रमुख अर्यालले बताए । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ लाई मध्यनजर गर्दै नगरपालिकाले ४ सय ५० बेड क्षमताको क्वारेन्टाइन निर्माण गरेको नगरप्रमुख डिल्लीराज भुसालले जानकारी दिए । उनले आवश्यकता अनुसार थप गरी पाँच सय बेड क्षमताको क्वारेन्टाइन बनाउने योजना रहेको बताए । नगरपालिकामा अहिले २० बेड क्षमताको आइसोलेशन निर्माण गरिएको छ । यसलाई ४० बेड क्षमताको पुर्याउने योजना नगरपालिकाको छ । यसअघि भारतबाट आएका रेसुङ्गा नगरपालिका १० सिमिचौरका २६ वर्षिय कोरोना संक्रमित पुरुष उपचाररत रहेका छन् ।
शुक्रबार मेयर भुसालले प्रदेश तहमा आन्तरिक रोजगारी अध्ययन सम्बन्धी भर्चुअल बैठकमामा नगरपालिकाभित्रको विषयमा जानकारी गराएका छन् । त्रिभुवन विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट र श्रम रोजगार तथा सामाजिक विकास मन्त्रालयको सहकार्यमा आयोजना गरिएको भर्चुअल बैठकमा मेयर भुसालले नगरपालिका भित्र रोजगारीको अवस्था, रोजगारिका संभावित क्षेत्र, स्थानीय तहका प्राथमिकता केन्द्र र प्रदेश सरकारको सहयोगका विषयमा जानकारी गराएका थिए । भर्चुअल बैठकमा केन्द्रिय सभासद, त्रिविका प्रोफेसर डाक्टर, प्रदेश योजना आयोगका उपाध्यक्ष, प्रदेश पाँच भित्रका नगरप्रमुखहरु सहभागी थिए ।