Shittalpati
लोक दोहोरी प्रतिष्ठान गुल्मीले देखायो महामारीमा सक्रियता

पाल्पा । नेपाली कलाकारहरुको साझा संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गुल्मीले कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि सक्रियता देखाएको छ । प्रतिष्ठानले जिल्लामा कोरोना महामारी नियन्त्रणका लागि स्वास्थ्य सामग्री वितरण, विभिन्न सचेतनाका कार्यक्रमहरु सञ्चालन गरि सक्रियता देखाएको हो । केही समय अघि सचेतनाका कार्यक्रमहरु सञ्चालन गरेको प्रतिष्ठानले केही स्थानीय तहमा स्वास्थ्य सामग्री वितरण गरेको छ ।

प्रतिष्ठानले भारत लगायत तेस्रो मुलुकबाट आई क्वारेन्टाइनमा बसेका नागरिकहरुका लागि कोरोना भाइरस कोभिड १९ को सक्रमणबाट बच्न र बचाउनका लागि स्वास्थ्य सामग्री वितरण गरेको हो । जिल्लाको इस्मा गाउँपालिका वडा नम्वर १ र २ मा निर्माण गरिएका क्वारेन्टाइनमा रहेका नागरिकहरुका लागि १५ हजार बराबरको माक्स, सेनेटाइजर लगायतका स्वास्थ्य सामग्री वितरण गरिएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका पदाधिकारीहरुले वडामै पुगी दुई सय पिस माक्स, साढे चार लिटर सेनेटाइजर सहयोग गरेका हुन् । उक्त सामग्री प्रतिष्ठानका अध्यक्ष बसन्त खत्रीले गाउँपालिका उपाध्यक्ष विमला खत्रीमार्फत सम्बन्धित वडाका वडा अध्यक्षलाई हस्तान्तरण गरेका थिए ।

सामग्री हस्तान्तरण गर्दै प्रतिष्ठानका अध्यक्ष खत्रीले विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीबाट बच्न र बचाउनका लागि क्वारेन्टाइनमा रहेका नागरिकहरुलाई केही भए पनि राहत मिलोस् भन्नका लागि सामग्री हस्तान्तरण गरिएको बताए । यदि क्वारेन्टाइनमा रहेका नागरिकमा कोरोना भाइरस रहेमा अन्य नागरिकहरुमा सर्ने सम्भावना प्रवल रहेकाले उनीहरुको सुरक्षाका लागि स्वास्थ्य सामग्रीले महत्वपूर्ण टेवा पुग्नेमा अध्यक्ष खत्रीले विश्वास व्यक्त गरे । उनले आवश्यकता अनुसार अन्य स्थानीय तहका क्वारेन्टाइनमा रहेका नागरिकहरुलाई समेत स्वास्थ्य सामग्री बाड्ने बताए ।

सामग्री ग्रहण गर्दै गाउँपालिका उपाध्यक्ष विमला खत्रीले विपद्का बेला प्रतिष्ठानले देखाएको सहयोग र सद्भावको प्रशंसा गरिन् । १ का वडा अध्यक्ष चुरा बहादुर खत्री, २ का वडा अध्यक्ष टिका रेस्मीले स्वास्थ्य सामग्री प्रदान गरेकोमा प्रतिष्ठानलाई धन्यवाद दिए । प्रतिष्ठानका निवर्तमान अध्यक्ष जनक पन्थ, आजीवन सदस्य जनार्धन घिमिरे लगायतका सदस्यहरुको उपस्थितीमा सामग्री वितरण गरिएको थियो । प्रतिष्ठानले जिल्लामा लोक तथा संस्कृतिहरुको संरक्षणसँगै विपद्मा परेकाहरुको उद्दारमा समेत सक्रिय भूमिका खेल्दै आएको छ । सुरुवातका दिनदेखि नै प्रतिष्ठानले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । केही महिना अघि प्रतिष्ठानले मिर्गौला पिडित रेसुङ्गा नगरपालिका ८ निवासी युगल भुजेललाई ५ हजार ५ सय ५५ रुपैयाँ आर्थिक सहयोग समेत गरेको थियो ।

प्रकाशित मिति: शुक्रबार, जेठ २३, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update