Shittalpati
मर्निङ वाक गर्दा ध्यान दिउँ

मर्निङ वाक बिहानमा गरिने हिँडडुल हो । यो स्वस्थ जीवनका लागि एक आवश्यक व्यायाम पनि हो । शारीरिक तन्दुरुस्तीका साथै दीर्घ र स्वस्थ जीवनका लागि मर्निङ वाक गरिन्छ । यो सबै उमेर समूहका मानिसका लागि उत्तिकै लाभदायी र जरुरी पनि छ । शरीर आफंैमा विभिन्न रोगहरूको घर हो । मानिस उच्च वा न्यून रक्तचाप, मधुमेह, मुटुरोग आदिबाट निकै ग्रसित छन् । यिनीहरूका लागि पहिलो स्वास्थ्य टिप्स भनेको मर्निङ वाक नै हो । डाक्टरहरूले पनि नियमित मर्निङ वाक गर्न सल्लाह दिने गर्दछन् । तर जाडो समयमा मर्निङ वाक गर्दा धेरै समस्या उत्पन्न हुन सक्छ ।

देशका धेरै शहरहरुमा मर्निङ वाक गर्दैगर्दा दुर्घटनामा परेका खबरहरु विभिन्न सञ्चार माध्यमहरुमा आउने गरेका छन् । जाडो समयमा हुस्सुका कारण कानमा एअर फोन लगाई दौडिदा दुर्घटनाका घटनाहरु बढ्ने गरेका छन् । बाक्लो हुस्सुका कारण गाडी चालकहरुले मर्निङ वाकमा हिँडेका व्यक्तिहरुलाई ठक्कर दिई घाईते भएका घटनाहरु सुन्ने गरिएको छ । यो अत्यन्तै दुखद् हो । धुवाँधुलोले उत्पन्न बढ्दो वायुप्रदूषणले सूर्यको किरण वायुमण्डलमै रोकिएपछि चिसोका कारण बाटोमा हुस्सु लाग्ने गरेको छ । देशभर तापक्रम घट्नेक्रम जारी छ, चिसो बढ्दै छ ।

दिन छोटो हुने र त्यसैमा घाम पृथ्वीमा आउँन नपाएपछि चिसो तथा चिसोबाट उत्पन्न स्वास्थ्य समस्या पनि बढ्दै गएका छन् । जाडो बढ्न थालेपछि अस्पतालमा चिसोजन्य तथा यस्ता दुर्घटनामा पर्ने रोगीको चाप बढ्दै गएको छ । शरीरलाई स्वस्थ तथा स्फूर्तिपूर्ण बनाउनका लागि र भए गरेका दीर्घकालीन रोगलाई नियन्त्रणमा राख्न मर्निङ वाक जति जरुरी छ, त्यति नै जाडोको मौसममा राति प्रशस्त शीत पर्ने र कुहिरो लाग्ने हुँदा श्वासप्रश्वासका बिरामी तथा दीर्घरोगीले मात्र नभई सबैले प्रदूषण र अत्यधिक चिसोबाट जोगिन मर्निङ वाक बिहानै नभई घाम लागेपछि गर्दा राम्रो हुन्छ । यस तर्फ सबैले ध्यान दिन जरुरी छ ।

प्रकाशित मिति: आइतबार, माघ ५, २०७६  २०:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update