
पाल्पा, मंगलबार युनाईटेड मिसन अस्पताल तानसेनको आईसोलेसमा उपचारको क्रममा मृत्यु भएका एक पुरुषको कोरोना पुष्टि भएको छ । पूर्वखोला गाउँपालिका वडा १ सिलुवाका ४६ बर्षिय पुरुषको भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पिसिआर परीक्षणका क्रममा रिपोर्ट पोजेटिभ आएपछि उनको कोरोनाका कारण मृत्यु भएको पुष्टि भएको हो । उनको तीन दिन अघि आईसोलेसमा उपचारको क्रममा मृत्यु भएको थियो ।
उनी पूर्वखोला गाउँपालिका १ सिलुवा घर भई वडा २ जल्पाको शम्भु माविको क्वारेन्टाइनमा बस्दै आएका थिए । उनको स्वास्थ्य अवस्था विग्रदै गएपछि सोमवार मिसन अस्पतालको आईसोलेसनमा भर्ना गरिएको थियो । भारतको मुम्वईबाट गाउँपालिका आएका उनी १८ गते क्वारेन्टाइनमा पुगेका थिए । उनको विहिबार रिपोर्ट पोजेटिभ आएको भैरहवा जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ । यो सँगै नेपालमा कोरोना भाइरस संक्रमणले मृत्यु हुनेको संख्या १० पुगेको छ । यसअघि कोरोना संक्रमणबाट सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक, अर्घाखाँचीका एक, दैलेखका एक, बाजुराका एक र दोलखाको एक जनाको मृत्यु भएको थियो । प्रदेश जनस्वास्थ्य प्रयोगशालामा बिहीबार पाल्पाको मृतक एकसहित अर्घाखाँचीको १, नवलपरासीको २ र रुपन्देहीको १८ सहित २२ जनामा कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको थियो ।