Shittalpati
गुल्मीका स्थानीय तहमा आइसोलेशन कक्ष निर्माण गरिदै

रमेश विश्वकर्मा

गुल्मी । जिल्लाका स्थानीय तहहरुमा आइसोलेशन कक्ष निर्माण गर्न लागिएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) लाई मध्यनजर गर्दै स्थानीय तहहरुमा १ सय बेडका आइसोलेशन कक्ष निर्माण गर्न लागिएको हो । यस अघि जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले जिल्लाका ७ स्थानीय तहमा आइसोलेशन कक्ष निर्माण गर्ने निर्णय गरेको थियो । जस अनुसार सत्यवती गाउँपालिकाको जोहाङ खैरेनी, रुरु क्षेत्र गाउँपालिकाको रिडि, छत्रकोट गाउँपालिकाको श्रृङ्गा, धुर्कोट गाउँपालिकाको रजस्थल,चन्द्रकोट गाउँपालिकाको शान्तिपुर, मुसिकोट नगरपालिकाको वामीटक्सार, रेसुङ्गा नगरपालिकाको तम्घासमा आइसोलेशन कक्षको निर्माण गर्ने गरी काम अगाडि बढेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी लक्ष्मण पाण्डेले जानकारी दिए ।

प्रत्येक पालिकामा कम्तीमा पनि १०–२० बेड क्षमताको आइसोलेशन कक्ष निर्माण गरिने छ । सदरमुकाम तम्घासमा ४० बेड क्षमताको आइसोलेशनको निर्माण हुने छ । मंगलबारसम्म जिल्लाका विभिन्न स्थानमा ६७ बेडको आइसोलेशन कक्ष निर्माण गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जस अन्र्तगत रेसुङ्गा नगरपालिकामा २०, मुसिकोट नगरपालिकामा १६,चन्द्रकोट गाउँपालिकामा ८, छत्रकोट गाउँपालिकामा ३, धुर्कोट गाउँपालिकामा २० बेडको आइसोलेशन कक्षको निर्माण भएको हो । कोभिड–१९ संक्रमण पुष्टि भएकालाई आइसोलेशन कक्षमा राखेर उपचार गरिने छ । चन्द्रकोट गाउँपालिका अध्यक्ष द्रोण खत्रीले भारत लगायतका तेश्रो मुलुकबाट आएकाहरुलाई गाउँपालिकाले स्थापना गरेको क्वारेन्टाइनमा बस्न आग्रह गरेको बताए ।

उनले भने ‘क्वारेन्टाइनमा बस्दा स्वास्थ्यमा केही समस्या देखिए, गाउँपालिकाको आइसोलेशन होल्डिङ्ग कक्षमा राखि आर.डि.टि. र पिसिआर परीक्षण गर्छौ र रिपोर्ट पोजिटिभ देखिए आइसोलेसन कक्षमा राख्छौं ।’ आईसोलेशन कक्षमा रहँदा श्वासप्रश्वासमा कुनै समस्या आएमा भेन्टिलेटरमा राखी उपचार गर्नको लागि बुटवल पठाईने अध्यक्ष खत्रीले बताए । उनले कोभिड–१९ विरुद्ध गाउँपालिकाले हरेक तरिकाले तयारी गरेकाले ढुक्क भएर बस्न पालिकावासीलाई आग्रह समेत गरेका छन् ।

प्रकाशित मिति: मंगलबार, जेठ २०, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update