Shittalpati
कोरोना पोजेटिभ देखिएका निस्दीका २ जनालाई आईसोलेशनमा लगियो

इमान सिं राना

पाल्पा(रामपुर) । कोरोना पोजेटिभ देखिएपछि भारतबाट फर्किएर क्वारेन्टाईनमा रहेका निस्दीका २ जनालाई आईसोलेशनमा लगिएको छ । जेठ १० गते संकलन गरिएको स्वाव नमुना परीक्षणको क्रममा सोमबार पोजेटिभ देखिएपछि उनीहरुलाई तानसेनमा निर्माण गरिएको आसोलेसनमा लगिएको हो । निस्दी गाउँपालिका २ ले सञ्चालन गरेको एम्बुलेन्समार्फत उनीहरुलाई तानसेन मिसन अस्पताल नजिकै निर्माण भएको वृद्धआश्रम भवनको आईसोलेसनमा लगिएको निस्दी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रेमबहादुर दिसाले जानकारी दिए ।

स्वास्थ्य शाखा प्रमुख दिसाले छिट्टै आईसोलेसनसम्म लैजान प्रयास गरे पनि गाडी र चालकको व्यवस्था गर्न मुस्किल भएको बताए । उनले एम्बुलेन्स चालकलाई पिपिइको व्यवस्था गरेर आईसोलेसनमा पठाईएको जानकारी दिए । भारतबाट फर्किएर निस्दी २ को अंशुवर्मा माध्यमिक विद्यालयको क्वारेन्टाईनमा रहेका २० जना मध्ये प्रदेशबाट फर्किएका १७ वर्षिय र ३६ वर्षिय पुरुषमा कोरोना पोजेटिभ देखिएको थियो । उनीहरु सँगै महाराष्ट्रको मुम्बाई, मध्ये प्रदेशको इन्डोर र उत्तर प्रदेशको देवासबाट आएर क्वारेन्टाईनमा रहेका २० जना जेठ ७ गते सुनौली आएका थिए । जेठ ९ गते जिल्ला प्रशासन कार्यालयको समन्वयमा पठाइएको गाडी मार्फत अन्य पालिकाका युवाहरुसंगै तानसेनमा निर्माण गरिएको होल्डिङ्ग क्वारेन्टाईनमा आएका थिए ।

१० गते पिसिआरका लागि स्वाव संकलन पछि निस्दी गाउँपालिकाले व्यवस्था गरेको बसबाट रामपुर ३ किर्तिपुरसम्म र त्यस पछि ट्रयाक्टर चढेर राती २ बजे उनीहरु क्वारेन्टाईनसम्म पुगेका थिए । क्वारेन्टाईनमा रहेका बाँकी १८ जनाको पिसिआरको लागि प्रक्रिया अघि बढेको स्वास्थ्य शाखा प्रमुख दिसाले बताए ।

प्रकाशित मिति: मंगलबार, जेठ २०, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update