Shittalpati
गुल्मीको मुसिकोटमा क्वारेन्टाइन व्यवस्थापनमा चुनौती

गुल्मी । जिल्लाको मुसिकोट नगरपालिकामा भारतीय सिमा नाकाबाट आएका नागरिकहरुको संख्या अत्याधिक भए पछि क्वारेन्टाईन व्यवस्थापनमा चुनौती थपिएको छ । ७१ ओटा क्वारेन्टाइनमा ३ सय २५ वेड तयारी गरेको नगरपालिकाले भारतबाट घर फर्किनेको संख्या वढ्दै गएकोले व्यवस्थापनमा चुनौती थपिएको बताएको छ । निर्माण गरिएका क्वारेन्टाईन भन्दा बढी मात्रमा नागरिक भित्रिएपछि क्वारेन्टाईन अव्यवस्थित भई कोरोना भाइरस संक्रमण फैलिने सम्भावना बढेको छ, जसले गर्दा नगरपालिकालाई क्वारेन्टाईन व्यवस्थापनमा चुनौती थपिएको हो ।

नगरपालिकामा आइतवार राति सम्म ५ सय १० जनालाई क्वारेन्टाइनमा राखिएको छ । प्रत्येक वडा भित्रका विद्यालयहरुमा व्यवस्थापन गरी ४ सय ६५ पुरुष र ४५ महिलालाई क्वारेन्टाइनमा राखिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ढाल बहादुर जिसिले जानकारी दिए । क्वारेन्टाईन व्यवस्थापनमा चुनौती देखिए पछि नगरपालिकाले राजपत्र प्रकाशित गर्दै क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०७७ जारी गरी प्रत्येक वडा र टोलमा क्वारेन्टाइन सञ्चालन गर्ने तयारी थालेको छ । नगरपालिकामा प्रत्येक टोलका विद्यालयमा क्वारेन्टाइन सञ्चालन गरिएको छ ।

सम्बन्धित विद्यालयका प्रधानाध्यापकहरुलाई संयोजक तोकी क्वारेन्टाइन व्यवस्थापन गरिएको नगरपालिकाले जनाएको छ । यसै बीच वडा ७ को कार्यालयले क्वारेन्टाइन व्यवस्थापन गर्न स्वयंसेवक आवश्यक परेको भन्दै खुल्ला आह्वान गरेको छ । वडा अध्यक्ष प्रकाश काफ्लेका अनुसार ठूला राजनैतिक दलहरु नेपाल कम्युनिष्ट पार्टी (नेकपा), र नेपाली काँग्रेसलाई १०/१० जना स्वयंसेवक उपलब्ध गराउन पत्र पठाइएको छ । स्वयंसेवा गर्न चाहने क्लव, आमा समुह लगाएत सबैमा सार्वजनिक रुपमा आह्वान गरिएको छ । –पत्रकार कमल पौडेलको सहयोगमा

प्रकाशित मिति: मंगलबार, जेठ २०, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update