Shittalpati
उच्च सतर्कता अपनाऔं

पाल्पामा पनि पाँच जनामा कोरोना संक्रमितहरु देखिएपछि एक किसिमको त्रास फैलिएको छ । अहिलेसम्म कोरोना संक्रमण नदेखिएको पाल्पामा आईतबार र सोमबार गरी पाँच जनामा कोरोना ‘पोजेटिभ’ देखिए पछि त्रास फैलिएको हो । भारतबाट आएर क्वारेन्टाइनमा रहेका रैनादेवी छहराका २ जना, माथागढी गाउँपालिकाका १ जनामा र निस्दी गाउँपालिकाका २ जनामा कोरोना पोजेटिभ देखिएपछि पाल्पामा थप उच्च सतर्कता अपनाउनु पर्ने देखिएको छ । भारतबाट फर्किएका मध्ये २ सय ५७ जनाको पिसिआर परीक्षण गर्दा तीन जनामा पोजेटिभ देखिएको हो ।

जिल्लाका स्थानीय सरकारहरुले सुरुका दिन देखिनै उच्च सकर्तकता अपनाउँदै आएपनि किट अभावका कारण परीक्षणको दायरालाई भने बढाउन सकिरहेका छैन । जसले गर्दा संक्रमणको जोखिम बढ्ने सम्भावना देखिएको छ । पाल्पामा भारतीय सिमा नाकाबाट दैनिक रुपमा सयौंको संख्यामा नागरिकहरु आइरेहको र परीक्षणका लागि पर्याप्त मात्रमा स्वास्थ्य सामग्रीहरु नहुँदा संक्रमण झन–झन बढ्दै जाने होकी भन्ने जिल्लावासीमा त्रास पैदा भएको छ । परीक्षणका लागि सामग्री नहुनु र भारतबाट नागरिकको संख्या बढ्दै जाँदा जिल्लावासीमा त्रास फैलिनु स्वभाविक नै हो । तर यसो भन्दै गर्दा अहिले नै हतास भइहाल्ने अवस्था भने छैन ।

संक्रमण लाग्दैमा सबैको मृत्यु नै हुन्छ भन्ने पनि छैन । नेपालमा धेरै संक्रमति व्यक्तिहरु निको भएर घर फर्किसकेका पनि छन् । त्यसैले हतास भन्दा पनि सुरक्षाका विभिन्न उपायहरु अवलम्वन गर्दै आफुलाई धैर्य र सावधानी अपनाउनुपर्ने देखिन्छ । नागरिकले आवश्यक सावधानी नअपनाउने र स्थानीय सरकारले पनि ढिल छाड्ने हो भने अबका दिन अझ कष्टकर हुने देखिन्छ । स्थितिलाई कम जोखिमपूर्ण बनाउन संक्रमितको सम्पर्कमा आएका व्यक्तिको पहिचान र परीक्षणको दायरा व्यापक बनाउनु अहिले विकल्प छैन । पाँच जनामा संक्रमण देखिएपछि पाल्पा पनि संक्रमणको उच्च जोखिममा रहेको भन्न सकिन्छ । तसर्थ अब यहाँ तत्काल सावधानी र उच्च सर्तकता अपनाउन जरुरी छ ।

प्रकाशित मिति: मंगलबार, जेठ २०, २०७७  १०:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update