Shittalpati
गुल्मीमा थप एक जनामा कोरोना संक्रमण

रमेश विश्वकर्मा
गुल्मी, गुल्मीमा थप एक जनामा कोरोना संक्रमण देखिएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका–१० का २६ वर्षिय पुरुषमा कोरोना भाइरस पोजेटिभ देखिएको हो । उनी गत जेठ १० गते भारतको मुम्बईबाट आई सदरमुकाम तम्घासमा रहेको महेन्द्र नमुना माध्यमिक बिद्यालयमा बनाईएको क्वारेन्टाइनमा रहेका थिए । क्वारेन्टाइनमा रहेको अवस्थामा जेठ १६ गते खोकी र छाँती दुख्ने समस्या आएको बताए पछि उनको आरडीटी परीक्षण गर्दा पोजेटिभ देखिएको थियो । सोही दिन नै पीसीआर परीक्षणका लागि पठाईएको थियो ।

पीसीआर परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको रेसुङ्गा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बोम अर्यालले जानकारी दिए । उनलाई अहिले उपल्लो तम्घासमा बनाईएको आइसुलेशनमा राखेर उपचार भईरहेको अर्यालले बताए । उनको अवस्था सामान्य रहेको अर्यालको भनाई छ । यससँगै गुल्मीका पाँचजनामा कोरोना संक्रमण देखिएको छ । जसमा मदानेका एक जनाको मृत्यु भइसकेको छ । एक जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । दाङको तुल्सीपुर नगरपालिका घर भई मदाने गाउँपालिकास्थित बैंकमा कार्यरत ३१ वर्षीय एक पुरुष कोरोना निको भएर सोमबार डिस्चार्ज भएका हुन् । भने तीन जना उपचाररत रहेका छन् ।

प्रकाशित मिति: सोमबार, जेठ १९, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update