Shittalpati
नवजनचेतना दैनिकका सञ्चारकर्मीलाई कोरोना बिमा

पाल्पा,पाल्पाको कैलाशनगर मिडिया प्रालिद्वारा प्रकाशित नवजनचेतना राष्ट्रिय दैनिकले कोरोना महामारीको जोखिम मोलेर काम गरिरहेका सञ्चारकर्मीहरुको कोरोना बिमा गरेको छ । संस्थाले दैनिक र शित्तलपाटी डटकममा कार्यरत कर्मचारीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै कोरोना भाइरसबाट हुनसक्ने सम्भावित जोखिमबाट बच्नका लागि प्रति कर्मचारी एक लाख र ५० हजार बराबरको कोरोना बिमा गरिदिएको हो ।

कोरोना महामारीको बेला अग्रपंक्तिमा रहेर जोखिमपूर्ण काम गरिरहेका पत्रकार, प्रशासनिक शाखामा कार्यरत कर्मचारी,बजार व्यवस्थापक, प्रेस अपरेटर लगायतका कर्मचारीहरुको संस्थाले सगरमाथा इन्स्योरेन्स कम्पनी पाल्पा शाखामार्फत बिमा गरिदिएको दैनिकका प्रवन्ध निर्देशक इन्द्रा भट्टाईले बताईन । उनले भनिन् ‘देशका विभिन्न सञ्चारमाध्यममा काम गर्ने पत्रकारहरुलाई कोरोना संक्रमण पुष्टि भईरहेको बेला दैनिकमा कार्यरत कर्मचारीहरुको मनोवल उच्च राख्न र सम्भावित जोखिमबाट हुन सक्ने क्षतिलाई कम गर्न बिमा गरिदिएका हौं ।’

बिमा कम्पनीसँग भएको सम्झौता अनुसार कुनै पनि कर्मचारीलाई संक्रमण भएमा कम्पनीले बिमाङ्क अनुसारको रकम सम्बन्धित कर्मचारीलाई उपलब्ध गराउने छ । अग्रपंक्तिमा रहेर जोखिमपूर्ण तवरबाट काम गरिरहेका कर्मचारीहरुको व्यक्तिगत सुरक्षाका लागि बिमाको व्यवस्था गरिएको दैनिकका सम्पादक जगदीश भट्टराईले बताए ।उनले भने‘संस्थामा कार्यरत कर्मचारीहरुको कार्य क्षेत्रको जोखिमतालाई हेरेर एक लाख र ५० हजार बराबरको बिमा गरिएको हो ।’

दैनिकका सम्पादक भट्टराईलाई बिमा पोलिसी हस्तान्तरण गर्दै सगरमाथा इन्स्योरेन्स कम्पनीका शाखा प्रवन्धक करुणा काफ्ललेले जोखिम बहन गर्नका लागि बिमाले महत्वपूर्ण टेवा पुग्ने बताए । उनले भने ‘कुनै पनि कर्मचारीमा कोरोना पिसिआर रिपोर्ट पोजेटिभ आए कम्पनीले तत्कालै रकम उपलब्ध गराउने छ ।’ यदि कोहीमा संक्रमण देखिएर अस्पतालमा उपचार गर्नु परेमा उक्त कर्मचारीको परिवारलाई आइपर्ने आर्थिक समस्यामा बिमा कम्पनीबाट प्राप्त हुने रकमले केही राहत मिल्नेमा दैनिकका उप–सम्पादक रामचन्द्र रायमाझीले विश्वास व्यक्त गरे ।

 

 

 

प्रकाशित मिति: सोमबार, जेठ १९, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update