Shittalpati
भर्ना गर्न हतार नगरौं

विश्वभर फैलिएको कोरोना महामारीका कारण देशभरका शैक्षिक संस्थाहरु ठप्प छन् । लामो समयदेखिको लकडाउनका कारण पठन–पाठन बढी प्रभावित भए । कोरोना जोखिम बढ्दै गएपछि सरकारले लकडाउनलाई थप बढाउँदै लगेको छ । तर निजी विद्यालयहरुले भने जेठ २१ गतेदेखि विद्यार्थी भर्ना प्रक्रिया सुरु गर्ने बताएपछि चासो र चिन्ता बढेको छ । अहिले संक्रमित संख्या बढ्दै जाँदा निजी विद्यालय र सम्बन्धित संघ–संस्थाले संयुक्त विज्ञप्ती निकालेर विद्यार्थी भर्ना प्रक्रिया सुरु गर्ने बताएपछि यसले शैक्षिक क्षेत्रमा थप तरंग ल्याइदिएको छ ।

सरकारले अनुमति दिइसकेको त छैन, तर निजी विद्यालयले भने भर्ना गर्ने प्रक्रिया अगाडि बढाउन भने हतार गर्नु हुँदैन । कोरोना संक्रमणबाट बच्ने उत्तम विकल्प भनेको सामाजिक दुरी कायम राख्नु नै हो । तर विद्यालयमा भिडभाड हुन्छ भने व्यक्तिगत दुरीको पालना पनि व्यवहारिक हुँदैन । बालबालिका हुन् उनीहरु एक अर्कालाई छुन्छन् भेट्छन् खेल्छन्, त्यसैले उनीहरुलाई रोक्न कठिन हुन्छ । नेपालमा अहिले दैनिक सयभन्दा धेरै संक्रमित भेटिन थालेका छन् । परीक्षणको दायरा बढाउने हो भने अझै धेरै फेला पर्ने विज्ञहरु बताउँछन् । यो अवस्थामा निजी विद्यालयहरुले भर्ना खोल्नु सान्दर्भिक हुन सक्दैन ।

निजी विद्यालयहरुले बालबालिकाको भविष्य खत्तमै हुन लागेको भनेर अभिभावकसँग इमोसनल ब्ल्याकमेलिङ गरेर अभिभावकलाई छोराछोरी भर्ना गर्न भनिरहेका छन् । अहिले नयाँ शैक्षिक सत्रमा पढाइ सुरु भएको एक महिना हुनुपर्ने हो । एक महिना पढाई नहुँदा पढाईमा थुप्रै असर गरेको सत्य हो । तर सत्य के पनि हो भने एक महिना ढिला हुँदैमा पहाड नै खस्ने भन्ने हैन । अझै एक/डेढ महिना ढिला गरेमा पनि विद्यार्थीको भविष्य डामाडोल नै हुन्छ भनेर सोच्नु चाँही हुँदैन । यतिबेला ज्यान कसरी बचाउने भन्ने विषय नै ठूलो बनेको छ । तसर्थ अहिले सकेसम्म पठन–पाठन भन्दा पनि संक्रमण फैलन नदिनतर्फ नै ध्यान दिन जरुरी छ ।

प्रकाशित मिति: सोमबार, जेठ १९, २०७७  १०:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update