
पाल्पा,अहिलेसम्म कोरोना संक्रमण नदेखिएको पाल्पामा आईतबार एक्कासी तीन जनामा कोरोना ‘पोजेटिभ’ देखिएको छ । भारतबाट आएर क्वारेन्टाइनमा रहेका रैनादेवी छहराका २ जना र माथागढी गाउँपालिकाका १ जनामा कोरोना पोजेटिभ रहेको प्रदेश जनस्वास्थय प्रयोगशाला भैरहवाले जनाएको छ । यद्यपी पाल्पामा कोरोना पोजेटिभ देखिए पनि जनस्वास्थ्य मन्त्रालयले भने अझै पुष्टि गरेको छैन ।
भारतबाट फर्किएका मध्ये २ सय ५७ जनाको पिसिआर परीक्षण गर्दा तीन जनामा पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयका निमिक्त प्रमुख विश्वनाथ न्यौपानेले जानकारी दिए । उनीहरु १९,३८ र ४० वर्षका पुरुष रहेका छन् । उनीहरुलाई तानसेन स्थित युनाइटेड मिसन अस्पतालको वृद्धाश्राममा निर्माण गरिएको आइसोलेसन सेन्टरमा राखिने छ ।
पाल्पामा किट अभावका कारण परीक्षण गर्न समेत रोकिएको छ । परीक्षण रोकिएपछि क्वारेन्टाइन क्षेत्र वरपरका स्थानीय र परिवारमा समेत त्रास बढेको छ । शनिवारसम्म पाल्पामा १ हजार ४४ जना भारतीय नाकाबाट प्रवेश गरेकोमा २ सय ३५ जनाको मात्र स्वाव संकलन गरिएको छ । परीक्षणका लागि किट नभएपछि बाँकी ८ सय ९ जनालाई विना परीक्षण सम्बन्धित स्थानीय तहको क्वारेन्टाइनमा पठाइएको छ । जिल्लामा हालसम्म्म २ सय ७१ वटा पिसिआर प्रविधीबाट स्वाव पठाइए पनि १ सय ६० वटा परीक्षण भएको र १ सय ११ वटाको रिपोर्ट आउन बाँकी रहेको छ । आज जिल्लामा तीन जनामा कोरोना पोजेटिभ देखिए पछि त्रास बढेको छ ।