Shittalpati
पाल्पामा किट अभावका  कारण रोकियो स्वाव संकलन

कृष्ण पोखरेल
पाल्पा । जिल्लामा कोरोना भाइरस परीक्षण गर्ने किट अभाव भएको छ । किट नभएपछि विदेशबाट फर्केकाहरू विनापरीक्षण घर फर्किएका छन् । जसले गर्दा पाल्पाका ग्रामीण क्षेत्र उच्च जोखिममा रहेका छन् । किट नभएपछि भारतीय सिमा नाकाबाट जिल्ला भित्रिएका सबै नागरिकहरुको कोरोना परीक्षणको नमुना संकलन कार्य रोकिएको छ । देशभर भारत लगायत तेस्रो मुलुकबाट आएका नागरिकहरुमा कोरोना सक्रमण पोजेटिभ देखिईरहेका बेला पाल्पामा भने किट अभावका कारण परीक्षण गर्न रोकिएको हो । परीक्षण रोकिएपछि क्वारेन्टाइन क्षेत्र वरपरका स्थानीय र परिवारमा समेत त्रास बढेको छ ।

शनिबार संघीय सरकारले प्रत्येक प्रदेशमा परीक्षणको दायरा बढाउन भन्दै किट पठाएको दावी गरे पनि प्रदेश पाँच सरकारले किट नपठाएका कारण पाल्पामा स्वाव संकलन नै रोकिएको हो । सीमा नाकाबाट जिल्लामा दैनिक सयौंको संख्यामा नागरिकहरु आइरेहका बेला प्रदेश सरकारले भने लक्षण देखिएका व्यक्तिको मात्र नमुना परीक्षण गर्न जिल्लालाई अनुरोध गरेको छ । प्रदेश सरकारको गैरजिम्मेवार निर्देशनले भारतबाट आएका शंकास्पद नागरिकको परीक्षण नगर्दा समुदायमा भयावह स्थिती आउन सक्ने भन्दै स्थानीय सरकारहरुले चिन्ता व्यक्त गरेका छन् । रिब्दीकोट गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रिषीराम अर्जेलले भारतबाट आएका नागरिकको परीक्षण हुन नसक्दा स्थानीय तहलाई थप चुनाौती थपिएको बताए । उनले भने ‘गाउँपालिकामा भारतबाट ८३ जना नागरिक आइपुगेको र अन्य नागरिकहरु पनि आउने क्रम बढेकाले परीक्षण विना क्वारेन्टाइनमा राख्नुपर्दा थप समस्या सिर्जना भएको छ ।’

गाउँपालिकामा ठूलो संख्यामा नागरिक भारतीय सीमाबाट आएकाले शंकास्पद नागरिकहरुको परीक्षण हुन नसक्दा अन्य नागरिकमा संक्रमण फैलिन सक्ने डर भएको माथागढी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजु नेपालले बताए । उनले ‘संघीय सरकारले स्थानीय सरकारलाई आवश्यक स्वास्थ्य सामग्री खरिदका लागि स्विकृत दिए आफै खरिद गरेर भए पनि परीक्षणको दायरा बढाउन सक्छौं ।’ अहिले जिल्ला भित्रिएका सयांै नागरिकलाई विना परीक्षण गाउँ–गाउँको क्वारेन्टाइनमा पठाईएको छ । शनिबारसम्म पाल्पामा १ हजार ४४ जना भारतीय नाकाबाट प्रवेश गरेकोमा २ सय ३५ जनाको मात्र स्वाव संकलन गरिएको छ । परीक्षणका लागि किट नभएपछि बाँकी ८ सय ९ जनालाई विना परीक्षण सम्बन्धित स्थानीय तहको क्वारेन्टाइनमा पठाइएको छ ।

जिल्ला स्तरीय समितिले भारतीय नाकाबाट आएका नागरिकको अनिवार्य पिसिआर किटमार्फत स्वाव संकलन गरेका थियांै प्रदेश र केन्द्र सरकारबाट प्राप्त भएको किट सकिएपछि रोकिएको प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले बताए । अहिले प्रदेश सरकारबाटै भारतीय नाकाबाट आएका सबै नागरिकको परीक्षण नगरी सक्रमणको लक्षण देखिएका व्यक्तिको मात्र परीक्षणको लागि स्वाव संकलन गर्न आदेश दिएको प्रजिअ सुवेदीले बताए । उनले भने ‘अहिले प्रदेश सरकारले अस्पातालमा आएका शंकास्पद विरामी, क्वारेन्टाइनमा बसी सक्रमणको लक्षण देखिएका र सक्रमित व्यक्तिको कन्ट्रयाक ट्रेसिङको सूचीमा परेका व्यक्तिको मात्र परीक्षणको लागि स्वाव संकलन गरी पठाउने निर्देशन अनुसार काम भएको छ ।’

जिल्लामा अहिले सम्म अग्रभागमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधी, दैनिक कामकाजामा खटिएका कर्मचारी र पत्रकारहरुको पिसिआर प्रविधीबाट परीक्षण हुन सकेको छैन् । जिल्लामा हालसम्म्म २ सय ७१ वटा पिसिआर प्रविधीबाट स्वाव पठाइए पनि १ सय ६० वटा परीक्षण भएको र १ सय ११ वटाको रिपोर्ट आउन बाँकी रहेको छ । जिल्लामा अत्याश्यक व्यक्तिका लागि केहि मात्रामा पिसिआर किट रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालयले पिसिआर किट प्रदेश तथा केन्द्र सरकारसँग माग गरे पनि अहिलेसम्म सकेको छैन ।

प्रकाशित मिति: आइतबार, जेठ १८, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update