
पाल्पा । जिल्लाको माथागढी गाउँपालिकाले कोरोना भाइरसको महामारीमा अग्रभागमा रहेर काम गर्ने कर्मचारी र जनप्रतिनिधिहरुको कोरोना बीमा गरिदिएको छ । गाउँपालिकाले महामारीको समयमा आम नागरिकको स्वास्थ्य उपचारमा खटिने वडाका सबै स्वास्थ्यकर्मी, जनप्रतिनिधि र कर्मचारीहरुको कोरोना बीमा गरिदिएको हो ।
कोरोना महामारीको बेला जोखिम मोलेर काममा खटिएका व्यक्तिहरुको प्रति व्यक्ति एक लाख बराबरको कोरोना बीमा गरिएको गाउँपालिकाका अध्यक्ष सन्तोष थापा मगरले बताए । उनले भने‘कोरोना महामारीको समयमा अग्रभागमा रहेर काम गर्ने स्वास्थ्यकर्मी,गाँउपालिकाका कर्मचारी र वडाका प्रतिनिधिहरूको आत्मबल बढाउनका लागि गाउँपालिकाले कोरोना बीमा गरिदिएको हो ।’ कोरोनाका कारण देशमा मृत्यु भइसकेको अवस्थामा उच्च मनोबलका साथ कोरोनासँग लड्नका लागि कोरोना बीमाले महत्वपूर्ण टेवा पुग्नेमा आफुहरु विश्वस्त रहेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजु नेपालले बताए ।