Shittalpati
मौन अवधि सुरु : उम्मेदवार मौन, निर्वाचन आयोग जागा

पाल्पा,  आगामी आइतबार हुने स्थानीय तह उपनिर्वाचनको लागि बिहीबार राति १२ बजेदेखि मौन अवधि सुरु भएको छ । मौन अवधि सुरु भएसँगै राजनीतिक दल र उम्मेदवारको प्रचार–प्रसार बन्द भएको छ ।

निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ र १८ बमोजिम निषेध गरिएका कार्यहरू हुन नदिन सो अवधिको अनुगमन कार्यलाई निर्वाचन आयोगले प्रभावकारी बनाउने भएको छ । उसले उपनिर्वाचनका लागि निषेधित अवधि लागू भएकाले कुनै पनि उम्मेदवार वा अन्य व्यक्तिले चुनावी प्रचार–प्रसार गर्न नपाउने जनाएको छ । मतदान सुरु हुनुभन्दा ४८ घण्टाअघिबाट निषेधित अवधि सुरु हुने व्यवस्था छ । मौन अवधि सुरु भएकाले अब मतदानको काम पूरा नभएसम्म कसैले कुनै उम्मेदवारको पक्ष या विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा बोलाउन वा आयोजना गर्न, जुलुस निकाल्न वा नाराबाजी गर्न तथा अन्य कुनै प्रकारले प्रचार–प्रसार गर्न गराउन निषेध गरिएको छ । निर्वाचन मिति घोषणा भएसँगै आचारसंहिता लाग्ने भए पनि मौन अवधिमा भने विशेष संयमता अपनाउनुपर्ने हुन्छ ।

यस अवधिको पालना भएनभएको बारेमा आयोगले सूक्ष्म अनुगमन गर्ने जनाएको छ । तदान हुने दिन निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ बमोजिम निर्वाचन सम्बन्धी सामग्रीको प्रयोगमा बाधा पुर्‍याउन नहुने, मतपत्रको दुरूपयोग गर्न नहुने, गैरकानुनी तवरले मतपत्र दिन वा लिन नहुने, मतदानको अधिकार बिना मतदान गर्न नहुने, पटक–पटक मतदान गर्न नहुने, मत सङ्‍केत सार्वजनिक गर्न नहुने, मतदानको प्रक्रिया उल्लंघन गर्न नहुने, मतपत्र बाहेक अन्य वस्तु खसाल्न वा राख्‍न नहुने, मतदान भएको मतपत्र विगार्न वा नष्‍ट गर्न नहुने, मतदान गर्न बाधा गर्न नहुने  आयोगले जनाएको  छ । कहीँ कतैबाट भए गरेमा तत्काल कारवाही गरिने आयोगकी सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले एक विज्ञप्ति जारी गर्दै जानकारी गराएकी छन् ।

निर्वाचनमा कसैको डर, धाकधम्की र त्रास नमानी निर्धक्क भएर आफूले रोजेको प्रतिनिधिलाई मतदान गर्न आयोगले सम्पूर्ण मतदातालाई अपिल गर्दै त्यसका लागि साथ दिन सञ्चारमाध्यम, नागरिक समाज र सबैमा आग्रह  समेत गरेको छ ।आयोगले मंसिर १६ गते आइतबार बिहान ७ देखि अपराह्न ५ बजेसम्म ३३ जिल्लाका स्थानीय तहमा रिक्त विभिन्न पदमा उपनिर्वाचन गर्दैछ । स्थानीय तहमा रिक्त ४४ मध्ये तीनवटामा निर्विरोध भइसकेकाले अब ४१ स्थानमा मतदान हुनेछ । दुई जिल्ला समन्वय समिति प्रमुख, एक / एक मेयर र उपमेयर, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४ र ३४ वडाध्यक्ष पदका लागि निर्वाचन हुन लागेको हो । मतदानका लागि १ सय ६२ मतदान स्थल र २ सय ९३ मतदान केन्द्र कायम गरिएका छन् । निर्वाचनमा २ लाख २६ हजार ७ सय ९९ मतदाता छन् । पुरुष मतदाता एक लाख १४ हजार ९ सय ,महिला मतदाता एक लाख ११ हजार ८ सय ९६ र अन्य मतदाता ३ जना छन् ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १४, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update