पाल्पा, यो साता निरन्तर बढेको सेयर कारोबार मापक नेप्से परिसूचक चार दिनपछि भने घटेको छ । आइतबार, सोमबार, मंगलबार र बुधबार निरन्तर उकालो लागेको नेप्से विहिबार ८ दशमलव ३० अंकले घटेको हो ।
नेप्से घटेसँगै २ हजार ७ सय ४८ दशमलव ०५ विन्दुमा पुुगेर बन्द भएको छ । कुल ४९ कम्पनीको सेयर मूल्य बढेको छ भने १ सय ९५ कम्पनीको मूल्य घटेको छ । सोही अवधिमा ८३ हजार १ सय २८ पटकको सेयर किनबेचबाट ८ अर्ब ५४ करोड ५५ लाख रूपैयाँ कारोबार भएको छ । कुल १ करोड ६६ लाख ६३ हजार ३५५ कित्ता सेयर किनबेच भए । १३ उपसमूहमध्ये ३ उपसमूह मात्रै बढ्यो भने बाँकी घट्यो । बढ्ने उपसमूहमा व्यापार, जीवन बिमा र विकास बैंक रहे । घट्ने उपसमूहहरूमा निर्जीवन बिमा, उत्पादन तथा प्रशोधन, होटल तथा पर्यटन, फाइनान्स रहे ।
नेप्से घटेसँगै कारोबार रकम पनि बुधबारको तुलनामा घटेको छ । बुधबार ९ अर्ब माथिको सेयर कारोबार भएको थियो । विहीबार ३ सय ७ स्क्रिप्सको १ करोड ६६ लाख ६३ हजार ३ सय ५५ कित्ता सेयर ८ अर्ब ५४ करोड ५५ लाख २५ हजार ३ सय ७३ रुपैयाँमा खरिदबिक्री भए । एकल अंकले घटेको सेयर बजारमा दुईवटा कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । बिशाल बजार कम्पनी र विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर १० प्रतिशतले बढेको हो । यसैगरी सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर ९ दशमलव ९८ प्रतिशतले बढ्दा पाँचथर पावरको ८ दशमलव ३३ प्रतिशत र लाइफ इन्स्योरेन्स कर्पोरेसनको ८ दशमलव ११ प्रतिशतले बढेको हो । सोही दिन मानुषी लघुवित्त वित्तीयका लगानीकर्ताले भने सर्वाधिक गुमाए । सो कम्पनीको सेयर १० प्रतिशतले घट्यो । कारोबार रकमका आधारमा एक्सेल डेभलपमेन्ट बैंक शीर्षस्थानमा रह्यो । सो कम्पनीले ३१ करोड मूल्य बराबरको सेयर कारोबार गर्यो ।
नेपाल फाइनान्सको २९ करोडको सेयर कारोबार हुँदा मितेरी डेभलपमेन्ट बैंकक २७ करोड,जानकी फाइनान्सको २३ करोड र नगदी ग्रुपको २० करोड मूल्य बराबरको सेयर कारोबार भयो। कारोबारमा आएकामध्ये ५० स्टक्सको मूल्य बढ्दा १ सय ९४ वटाको घट्यो । १३ वटा समूहको उपसूचक घट्दा ३ वटाको मात्रै बढ्यो । डेभलपमेन्ट बैंक,लाइफ इन्स्योरेन्स र ट्रेडिङ समूहका उपसूचक सकारात्मक देखिएका हुन् ।