
हाम्रा संवाददाता
पाल्पा । बाहिरबाट आएका नागरिकहरुलाई राख्नका लागि तानसेन बतासेडाँडामा निर्माण गरिएको क्वारेन्टाईन अव्यवस्थित रहेको पाइएको छ । प्रदेश सांसद तथा नेपाली काँग्रेसका जिल्ला सभापति वीरबहादुर रानाले स्थानीय वासिन्दा र स्वंयम क्वारेन्टाईनमा बसेका व्यक्तिहरुको गुनासाको आधारमा त्यहाँको स्थलगत अनुगमन गर्ने क्रममा कोरेन्टाईन अव्यवस्थित रहेको पाईएको हो । स्थलगत अनुगमन गरेका सांसद रानाले क्वारेन्टाईन अव्यवस्थित भएकाले तत्काल त्यसको सही व्यवस्थापन गर्न सम्बन्धित पक्षसँग आग्रह गरेका छन् ।
प्रदेश सांसद रानाले भने ‘जिल्लाका विभिन्न स्थानमा जानका लागि भारतीय सीमा क्षेत्रबाट तानसेन ल्याईएका व्यक्तिहरुका लागि खानेपानी र समयमा मापदण्ड अनुरुप खानाको व्यवस्थापन नहुन अत्यन्त दुखद् हो,यसतर्फ सम्बन्धित निकायले ध्यान दिनुपर्छ ।’ हाल भारतका विभिन्न स्थानबाट आफ्नो घर फर्किएकालाई तानसेन स्थित बतासेडाँडाको विज्ञान संकायको भवन र जनप्रिय मावि वर्तुङ्गमा होल्डीङ गर्ने सहमति अनुसार कार्य सम्पादनमा कमी भएको सांसद रानाले बताए । उनले मापदण्ड अनुरुप खाने र वस्ने व्यवस्थापन नहुनु अत्यन्तै दुख्द विषय भएको बताउँदै, सम्बन्धित निकायको समयमै ध्यान जानुपर्नेमा जोड दिए ।
गुनासाका सम्बन्धमा तानसेन नगरपालिका क्वारेन्टाईन व्यवस्थापन समितिका संयोजक तथा तानपा १३ का वडाअध्यक्ष टुक भट्टराईसँग सम्पर्क गर्दा नयाँ अभ्यास, अनि समयमा आर्थिक व्यवस्थापन हुन नसक्दा यस्तो भएको बताए । उनले तत्कालै सबै समस्याको समाधान क्रमशः गर्दै जाने बताएका छन् । सोही विषयमा तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाहीसँग सम्पर्क गर्दा खाना पकाउँने भान्से र त्यहाँ सेवा दिने व्यक्तिको अभावले केही समस्या आएको स्वीकार गरे । भारतबाट आएका कतिपय व्यक्तिहरु क्वारेन्टाईनबाट बाहिर निस्केर पसलमा जाने, आवश्यक समान किन्ने गरेकाले त्रास फैलिएको स्थानीयले बताएका छन् ।